बाणगंगा, ०७ मंसिर । हिलवर्ट इङ्गलिस बोर्डिङ्ग स्कूल, बाणगंगा–२ पिपराले अभिभावकहरूका लागि आयोजना गरेको “The Art of Skillful Parenting” विषयक अभिभावक सशक्तिकरण तथा अभिमुखीकरण कार्यक्रम आज सफलता साथ सम्पन्न भएको छ। आईएसओ ९००१–२०१५ प्रमाणित यस संस्थाले शैक्षिक गुणस्तरका साथै अभिभावक–विद्यालय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले विद्यालयहरूले पाठ्यक्रमसहित बालबालिकाको भावनात्मक, व्यवहारिक र सामाजिक विकासमा पनि विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै अभिभावक–विद्यालयको सहकार्य नै विद्यार्थीको सफलताकाे मूल आधार भएको बताए । उनले ‘कुशल अभिभावकत्व’ वर्तमान समयमा अत्यन्तै आवश्यक विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालले विद्यालयले शैक्षिक सुधारसँगै अभिभावक क्षमतावृद्धिलाई निरन्तरता दिने दाबी गर्दै अभिभावकको सक्रिय सहभागिताले मात्र विद्यालयको प्रयास सार्थक बन्ने बताए ।
विद्यालयका प्राचार्य शिवकुमार पोख्रेलले विद्यार्थीहरूको सिकाइ, अनुशासन र चरित्र निर्माणमा अभिभावकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयले आधुनिक शैक्षिक पद्धति र मूल्य–आधारित शिक्षालाई मजबुत बनाउँदै अघि बढिरहेको जानकारी दिए ।
त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले हिलवर्ट स्कूलले समयसापेक्ष कार्यक्रम, गुणस्तरीय शिक्षा र सांस्कृतिक–नैतिक मूल्यलाई सँगै अघि बढाएको बताउँदै अभिभावकहरू विद्यालयको अभिन्न साझेदार भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मोटिभेसनल स्पिकर बी.के. शर्माले अभिभावकत्वका मनोवैज्ञानिक पक्ष, व्यवहारिक चुनौती, बालबालिकामा सकारात्मक संस्कार निर्माणका विधि, अनुशासन र संवादको महत्वबारे अत्यन्त प्रभावकारी र अन्तरक्रियात्मक प्रस्तुति दिए । उनले बदलिँदो सामाजिक परिवेशसँग तालमेल मिलाएर अभिभावकले अपनाउनुपर्ने कौशल तथा सही मार्गदर्शनका तरिकाबारे व्यावहारिक उदाहरण प्रस्तुत गरे ।
विद्यालयले अभिभावकहरूको सक्रिय उपस्थितिलाई महत्व दिँदै, कार्यक्रमले विद्यालय–अभिभावक साझेदारीलाई अझ मजबुत बनाउने र विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन नेपाली विषय विभाग प्रमुख तेज प्रसाद आचार्यले गरेका थिए ।

