बाणगंगा, ०८ मंसिर । बाणगंगा–८ मधुवनधामस्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रले “संस्कृती समृद्धि र समादरका लागि गौ–संरक्षण” भन्ने मूल नारासहित आगामी मंसिर ११ देखि १८ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ–संरक्षण महोत्सवका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवसम्बन्धी सबै तयारीबारे जानकारी गराइएको थियो।
छाडा, उपेक्षित, घाइते तथा दुर्घटनामा परेका गाईहरूको उद्धार, उपचार र संरक्षणलाई मुख्य उद्देश्य बनाएको भागीरथी गौ–संरक्षण केन्द्रले महोत्सवमार्फत गौ–सेवा र गौ–संरक्षणबारे व्यापक जनचेतना फैलाउने लक्ष्य लिएको छ। केन्द्रका अध्यक्ष तथा महोत्सव संयोजक चक्रबहादुर भण्डारीका अनुसार गौ–सेवा अभियानलाई दीर्घकालीन रूपमा फैलाउँदै यस क्षेत्रलाई गौ–पर्यटन केन्द्रका रूपमा विस्तार गर्ने योजना रहेको छ।
उहाँका अनुसार केन्द्रले एक वर्षभित्र १,००० गाई पालन गर्ने लक्ष्य तय गरेको छ। हाल केन्द्रमा करिब ४ सय गाई र ६ वटा गोठ सञ्चालनमा छन्। सडकमा छाडिएका, बाटोमा छोडेर लगिएका, उपेक्षित, खुट्टा भाँचिएका वा सवारी दुर्घटनाबाट जोगिएका गाईहरूलाई सुरक्षित स्थानमा ल्याई उपचार, पोषण र संरक्षणको व्यवस्था गरिंदै आएको छ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले गौ–संरक्षण केन्द्रलाई नै नगरपालिकाको छाडा पशु व्यवस्थापनको प्रमुख जिम्मेवारी तोकिएको बताउनुभयो। बाणगंगा पुलको पूर्व–दक्षिणतर्फ बसपार्क निर्माण, मधुवनमा गौशाला, वडा नं। ९ मा औद्योगिक ग्राम तथा फोहर–मैला व्यवस्थापन केन्द्र स्थापित गर्ने निर्णयसमेत नगरपालिकाले गरेको उहाँको भनाइ छ। छाडा पशु व्यवस्थापनका लागि प्रत्येक ५० पशुमाथि एक हेरालु नियुक्त गरिएको पनि उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, पूर्व वडा अध्यक्ष गुणानिधि भुसालले संरक्षण केन्द्रमा रहेका अधिकांश गाईहरू उपेक्षित, दुर्घटनाग्रस्त वा समाजले छोडिदिएका गाईहरू रहेको उल्लेख गर्दै केन्द्रले “उद्धारदेखि उपचार र दीर्घ संरक्षणसम्मको सम्पूर्ण सेवा” प्रदान गरिरहेको बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने भन्दै पत्रकारिता क्षेत्रमा पनि यस्ता सकारात्मक पहललाई निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो।
महोत्सव अन्तर्गत विहान ५ः३० बजे योग–ध्यान, पूर्वाङ्ग, मूलपाठ, हवन, १०८ शालिग्राम पूजन, संगीत–मय कथा वाचन, साँझको गंगा आरती, यज्ञ प्रसाद वितरणदेखि रातिको भजन–कीर्तनसम्मका विविध आध्यात्मिक कार्यक्रम गरिने आयोजक संस्थाले जनाएको छ।
आयोजकले भक्तजन, दानवीर तथा स्थानीय समुदायलाई गौ–सेवा, धार्मिक लाभ र सांस्कृतिक अनुभूतिका लागि महोत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

