आज मंगलबार १४ औँ कपिलवस्तु डान्स आइडलका लागी दोस्रो अडिशन हुँदै


१० मंसिर २०८२, मंगलवार ०९:३६ मा प्रकाशित

बुद्धरंगशाला । बाणगंगाको चारनम्बर बुद्ध रंगशालमा यही मंसिर १८ देखि पुष १ गते सम्म हुने १६ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सञ्चालन हुने १४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशन आज मगंलबार हुदैछ । अडिशन बिहान १ः०० बजे आयोजक बाणगंगा वेलफेयर सोसाइटीको सभाहलमा हुन लागेको १४ औ कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले बताए ।

पहिलो अडिशनबाट १३ जना छनोट भएका छन । जसमध्य रञ्जीता क्षेत्री सिधै प्रस्तुतीका लागी छनोट भएकी हुन । पहिलो अडिशनमा ३७ जना सहभागी भएका थिए । दोस्रो अडिशनमा सहभागी भई प्रतिसपर्धा आउन आयोजकले आग्रह गरेको छ ।

कपिलवस्तुमा पहिलो पटक १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्नो सिटी राखिने भएको छ। देशभर भर हुने मेला महोत्सव भन्दा यस पटक १६औँ कपिलवस्तु महोत्सव विशेष बन्न लागेको हो। महोत्सवको मुख्य आकर्षणको रूपमा स्नो सिटी जलपरी, सुनामि पिङ, मम्मी डान्स प्रतियोगिता पहिलोपटक गर्न लागिएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ।

महोत्सव मूल समारोह समितिका अध्यक्ष राज कुमार खाँणले यस वर्षको महोत्सवलाई राष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन र आम नागरिकलाई नयाँ अनुभूति दिने लक्ष्यसहित स्नो सिटीको योजना अघि सारिएको बताए । “नेपालमा कहीँ–कतै महोत्सवभित्र यस्तो व्यवस्था गरिएको छैन। असली हिउँ परेजस्तो अनुभव दिलाउनेगरी स्नो सिटी निर्माण गरिने छ,” अध्यक्ष खाणले बताए।

स्नो सिटीले बालबालिका, युवायुवतीदेखि पारिवारिक रूपमा महोत्सवमा आउने दर्शकलाई विशिष्ट रोमाञ्चक अनुभव दिलाउने आयोजकहरूको विश्वास छ। महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री)ले स्नो सिटीका लागि अत्याधुनिक चिस्यान प्रविधि, कृत्रिम हिउँ प्रभाव, फोटो–जोन, स्नो प्ले एरिया र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइँदैछ। “हिउँ नपर्ने तराई पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकले पहिलोपटक वास्तविकजस्तै हिउँको मजा लिन पाउनेछन्,” उनले भने।

महोत्सवमा विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, जलपरि, सुनामी पिङ, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।

महोत्सवमा स्नो सिटी, जलपरि,सुनामी पिङग, १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स लगायतको आकर्षणले बाणगंगा मात्रै नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकले बताएका छन् । स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

महोत्सवले स्थानीय होटल, यातायात, साना व्यवसाय, उत्पादन तथा सेवा क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पर्ने बताइन्छ। विगतका संस्करणहरूमा समेत कपिलवस्तु महोत्सवले स्थानीय बजारमा व्यापकरूपमा आर्थिक गतिविधि बढाएको थियो। यसपटक नयाँ आकर्षणसहित अझ बढी व्यावसायिक र सांस्कृतिक चहल–पहल देखिने आयोजकहरूको दाबी छ।

१६औँ कपिलवस्तु महोत्सव यस वर्ष स्नो सिटीका कारण विशेष हुँदैछ। सहभागीले पहिलोपटक महोत्सवमै हिउँ परेको अनुभूति, जलपरी, मम्मी डान्स हेरेर मनोरन्जन लिन लिन पाउने भएकाले यसले राष्ट्रियस्तरमै चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्