बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ९ गते मंगलबार करिब १२ हजार दर्शकले अबलोकन गरेका छन् । पाँचौ दिन चर्चित प्रकाश दुतराज, रितु थापा, विधान कार्की लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । उनी लोक संगीतमा बढी सक्रिय दुतराजले स्थानीय शैलीमा आधारित गीत गाउने गर्छन् । उनले मेलामा “घर कता हो बैनीको”, “रिमै”, “रेशम” जस्ता गीतहरू गाएर मेलाको रौनक नै बदलिदिएका छन् ।
बुधबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक अर्जुन सापकोटा, उज्वल गिरी, सारदा खनाल, आश्मा बञ्जाडे लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।
मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु। १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

