कपिलवस्तुको बाणगंगामा ‘कोशेली घर’ शुभारम्भ


पालिका पत्र

27 November, 2025 9:32 am मा प्रकाशित

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले सहकारी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले राज्य र सहकारी दुवै हातेमालो गर्दै रोजगारी सिर्जना, आत्मनिर्भरता र स्वावलम्बी समाज निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ‘कोशेली घर तथा सहकारी बजार’को औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले सहकारीहरूले निकै योगदान गरिरहे पनि केही सीमित सहकारीहरू व्यक्तिगत स्वार्थमा रमाउन खोजेको उल्लेख गर्दै सहकारीको मूल मूल्य, उद्देश्य र पारदर्शिताप्रति सबै गम्भीर हुनुपर्ने धारणा राख्नु भयो । प्रदेश सभा सदस्य पंथीले सहकारीको विकास र प्रवद्र्धनका लागि आफू निरन्तर दृढ रहिरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले कोशेली घर स्थापनामा नगरपालिकाको दीर्घ तयारी, अध्ययन र लगनको फल भएको बताउनु भयो । नगर प्रमुख अर्यालले यसको दिगोपनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै परियोजनालाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउन आग्रह गर्नु भयो ।कपिलवस्तु उद्योग वाणिज्य संघ अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय उत्पादन, उद्यमी र व्यवसायीसँग सहकार्य गर्दै कोशेली घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, कृषि विकास शाखा प्रमुख लेस बहादुर केसी, सहकारी विकास बोर्डका पूर्व कार्यकारी सदस्य तथा संस्थाका सल्लाहकार गुणानिधि भुसाल, सहकारी महासंघ लुम्बिनी प्रदेशका लेखा संयोजक तेज प्रसाद आचार्य, बाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा–८ का अध्यक्ष बाबुराम अर्याल, वडा–९ का अध्यक्ष कमल पौडेल, वडा–१ का कार्यवाहक अध्यक्ष लक्ष्मीकान्त क्षेत्री, पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मीहरू संस्थाका शेयर सदस्य एवम् स्थानियबासीको उल्लेख्य उपस्थिती रहेको कोषाध्यक्ष चिरन्जीवि पन्थीले जानकारी दिनु भयो ।

उद्घाटन समारोह संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, उपाध्यक्ष कुलराज पौडेलको स्वागत मन्तव्य र सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमका बारेमा व्यवस्थापक दिनामणी खनालले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्