बाणगंगामा भागीरथी गौ–संरक्षण महोत्सव भव्य रूपमा सुरु


पालिका पत्र

१२ मंसिर २०८२, बिहीबार २१:५१ मा प्रकाशित

मधुवनधाम मंसिर ११ कपिलवस्तु ।
“संस्कृति समृद्धि र समादरका लागि गौ–संरक्षण” भन्ने मूल नारासहित भागीरथी गौ–संरक्षण विकास केन्द्र, बाणगंगा–८ मधुवनधाम कपिलवस्तुले आयोजना गरेको श्रीमद्भागवत धन धान्यनञ्चल ज्ञानमहायज्ञ एवं भागीरथी गौ–संरक्षण महोत्सव विहीबार एक भव्य समारोहबीच प्रारम्भ भएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले महोत्सवको उद्घाटन गर्दै पशु–चौपायाको संरक्षणमा प्रदेश सरकार निरन्तर अग्रसर रहेको बताए। गाई हिन्दू धार्मिक संस्कारसँग गहिरो रूपमा जोडिएको प्राणी भएकाले यसको संरक्षण मानवको कर्तव्य भएको उनको भनाइ थियो। उनले गाई संरक्षणका लागि राज्य तहबाट विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।

जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले गौं संरक्षण चुनौतीपूर्ण विषय बनेको उल्लेख गर्दै भागीरथी गौ–संरक्षण विकास केन्द्रले सुरु गरेको काम प्रशंसनीय रहेको बताए। समस्या केवल वाणगंगामा मात्रै नभएकाले जिल्लाबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

साताव्यापी धार्मिक अनुष्ठानमा प्रमुख कथा वाचक एवं संरक्षक वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलले गौपूजन गर्दै कथा वाचनको शुभारम्भ गरेका छन्।

नगर प्रमुख चक्रपाणि अर्यालले घर–घरमा गाई पाल्ने परम्परा घट्दै जाँदा यसको महत्व ह्रास हुन सक्ने भएकाले जागरणका लागि महोत्सव आयोजना गरिएको बताए। नगरपालिकाले रणनीति बनाएर बजेट विनियोजन गर्दै गाई संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेको बताए।

उपमेयर रिता कुमारी चौधरी र नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सडकमा छाडिएका, घाइते, उपेक्षित गाईहरूको उद्धार तथा संरक्षण नगरपालिकाले गर्दै आएको बताएका छन्। नगरले बसपार्क, मधुवनमा गौशाला, वडा नं. ९ मा औद्योगिक ग्राम तथा फोहर व्यवस्थापन केन्द्र, कैलास आश्रममा संस्कृत शिक्षा केन्द्र सञ्चालन गर्ने निर्णय गरिसकेको जानकारी दिए। छाडा पशु व्यवस्थापनका लागि भागीरथी गौ–संरक्षण केन्द्रलाई जिम्मेवारी दिँदै आवश्यक संरचना निर्माण गरिएको पनि उनले जनाए।

भागीरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष तथा महोत्सव संयोजक चक्रबहादुर भण्डारीका अनुसार गाई संकलन, संरक्षण तथा दीर्घकालीन रूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। एक वर्षभित्र एक हजार गाई पालन गर्ने योजना रहेको र हाल केन्द्रमा करिब चार सय गाई र ६ वटा गोठ सञ्चालनमा रहेको उनले बताए।

कार्यक्रममा धार्मिक संस्था, आमा समूह, शिक्षक, कार्यपालिका सदस्य, वडा अध्यक्षलगायतको सक्रिय सहभागिता रहेको थियो। सञ्चालन ध्यान सिद्धार्थ गुणनिधि भुसाल र स्वामी समीर शायर भिमलाल भट्राईले गरेका थिए।

यस वर्षको महोत्सव मंसिर ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ।
दैनिक कार्यक्रमअनुसार

  • बिहान ५:३०–७ बजे योग ध्यान
  • ७–१० बजे पूर्वाङ्ग, मूलपाठ, रुद्री, हवन
  • १०८ शालिग्राम पूजन तथा परिक्रमा
  • ११–५ बजे संगीत–मय वाचन तथा भाँकी
  • साँझ ५–६ बजे गंगा आरती, पुष्पाञ्जली, गुरु आशीर्वाद र प्रसाद वितरण
  • राति ७–९:३० बजे भजन–कीर्तन
    जस्ता धार्मिक गतिविधि सञ्चालन हुने जनाइएको छ।

आयोजक संस्थाले भक्तजन तथा स्थानीयवासीलाई सहभागी भई धार्मिक लाभ प्राप्त गर्न र सकेको सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्