बाणगंगा, १५ मंसिर ।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अवलोकन गर्न मंसिर १५ गते विहिबार करिब ४ हजार दर्शक उपस्थित भएका छन् । लगातार ११ दिनदेखि चलिरहेको महोत्सवमा लोकप्रिय गायक पशुपति शर्मा लगायतका कलाकारहरूले प्रस्तुत गरेका गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले दर्शकलाई झनै उत्साहित बनाएको आयोजकले जनाएको छ ।
आउँदो मंसिर १६ गते शुक्रबार मेलाको मुख्य आकर्षणको रूपमा चर्चित तथा लोक प्रिय गायिका ज्योति मगरको विशेष प्रस्तुती रहने संयोजक शंकर भाट क्षेत्रीले बताए । उनका अनुसार मेलामा प्रत्येक दिन नयाँ कलाकारहरू, सांस्कृतिक कार्यक्रम, नृत्य तथा स्थानीय प्रतिभाहरूलाई पनि प्रस्तुती गर्ने अवसर प्रदान गरिएको छ ।
यस वर्षको महोत्सवमा सिंहदरबारको झल्को दिने सचिवालय मोडेल, आकर्षक जलपरी शो, र भित्रैबाट माछा हेर्न सकिने फिस टनेल विशेष आकर्षणका रूपमा राखिएका छन् । यी आकर्षणले विशेषतः बालबालिका, युवायुवती तथा पारिवारिक समूहलाई आकर्षित गरिरहेको छ ।
मेलामा दैनिक रु. १०० को टिकट खरिद गर्ने दर्शकहरूलाई लक्की ड्र मार्फत विभिन्न उपहार जित्ने अवसर पनि दिइएको छ । प्रत्येक दिन साँझ गरिने लक्की ड्रमा मोबाइल फोनदेखि घरेलु सामानसम्मका पुरस्कारहरू समावेश गरिएको आयोजकले जनाएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि प्रविधि, पर्यटन सम्भावना, घरेलु तथा साना उद्योग, हस्तकला, सांस्कृतिक पहिचान र उद्यमशीलतालाई एकै थलोमा प्रोत्साहन पुर्याउँदै कपिलवस्तुको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
साथै मेलाले स्थानीय व्यापारी, उत्पादनकर्ता, युवा उद्यमी र कृषकलाई बजार तथा पहिचान विस्तार गर्न प्रभावकारी भूमिका खेलेको संघको दाबी छ ।

