१६औँ कपिलवस्तु महोत्सवको उद्घाटन बुद्धिस्ट विधिबाट हुने


पालिका पत्र

१९ मंसिर २०८२, बिहीबार ०९:२६ मा प्रकाशित

१८ मंसिर २०८२, बिहीबार

वाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा मंसिर १८ गतेदेखि सुरु हुन लागेको १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को उद्घाटन बुद्धिस्ट विधिबाट हुने भएको छ। आयोजक वाणगंगा वेलफेयर सोसाइटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा हाल देशमा बढ्दो असान्ति र हिंसालाई मध्यनजर गर्दै लुम्बिनी–बुद्धभूमिबाट शान्तिको सन्देश देशभर फैलाउने उद्देश्यले बुद्धिस्ट शैलीमा उद्घाटन गर्न लागिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्रीले महोत्सवका उद्देश्य, कार्यक्रमका मुख्य आकर्षण र तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।उनका अनुसार यस वर्षको महोत्सवले कपिलवस्तु जिल्लामा रहेका कृषि, पर्यटन तथा औद्योगिक सम्भावनाहरूलाई उजागर गर्दै स्थानीय उत्पादन, संस्कृति र पहिचानको प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाएको छ।

आयोजकका अनुसार महोत्सवमा ३ सयभन्दा बढी स्टल रहनेछन् भने करिब १ लाख ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। स्टलहरूमा कृषि उत्पादन, स्थानीय हस्तकला, औद्योगिक क्षेत्रका नवीनतम प्रविधि, पर्यटन आकर्षण तथा विभिन्न व्यवसायिक सामग्रीहरू प्रदर्शनी तथा विक्रीका लागि रहने जनाइएको छ।

यस वर्षको महोत्सवको प्रवेशद्वारलाई जनकपुरस्थित जानकी मन्दिरको झल्को दिने गरी आकर्षक डिजाइनमा निर्माण गरिएको छ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ। विशेष गरी मेलामा विशेष आकर्षकको रूपमा जलपरी रहने पनि बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास बन्जाडे, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले आफ्नो धारणा राख्दै महोत्सवलाई सफल बनाउन स्थानीय, व्यापारी, सञ्चारकर्मी तथा आम नागरिक सबैको सक्रिय सहयोग अपरिहार्य रहेको बताए। उनीहरूले कपिलवस्तु जिल्लाको पहिचान तथा आर्थिक गतिशीलता वृद्धि गर्न महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

पत्रकारहरूले महोत्सवको व्यवस्थापन, आर्थिक पारदर्शिता, स्टल वितरण व्यवस्था तथा सुरक्षा व्यवस्थाबारे उठाएका प्रश्नहरूको जवाफ कार्यक्रमका अध्यक्ष राजकुमार खाणले विस्तृतरूपमा प्रस्तुत गरेका थिए । उनले सबै काम विधिवत् रूपमा सम्पन्न गर्ने, आर्थिक कारोबार पारदर्शी राख्ने तथा सुरक्षाका लागि पर्याप्त संयन्त्र परिचालन गरिने जानकारि १६औँ कपिलवस्तु महोत्सव मंसिर १८ गतेदेखि पुस १ गतेसम्म, करिब दुई सातासम्म, वाणगंगा नगरपालिका–४ को बुद्धरंगशाला परिसरमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्