आशिष शर्मा चीनका कृषि विज्ञको सहयोगमा लसुन खेती गर्दै, किसानका लागि आकर्षक विकल्प


पालिका पत्र

१९ मंसिर २०८२, बिहीबार ०९:५० मा प्रकाशित

कपिलवस्तुको बाणगंगा–११ भडसडवामा पहिलोपटक चाइनिज उन्नत जात सान्तोङ लिङलिङ लसुनको खेती सुरु गरिएको छ। करिब ढाई विगाह क्षेत्रफलमा सफल युवा व्यवसायी आशिष शर्माले चीनबाट आफैले ल्याएका कृषि विज्ञहरूको प्रत्यक्ष प्राविधिक निगरानीमा आधुनिक तरिकाले लसुन खेती सुरु गरेका छन्। पाँच महिनामै उत्पादन दिन सक्ने, ठूलो दाना लाग्ने भएकाले आशिष शर्माको चाइनिज लसुन परियोजना किसानका लागि नयाँ आशा र आकर्षक विकल्प बन्ने भएको छ

चीनबाट भिटामिनयुक्त औषधीबाट प्रशोधन गरिएका बीउ ल्याइएको भए पनि तातोपानी भन्सारमा ढिलाइ हुँदा यसपटक सीमित मात्रामा बीउ उपलब्ध भएको शर्माले बताए। “कपिलवस्तुका धेरै किसानले बीउ माग्नुभएको थियो, तर यसपालि पर्याप्त बीउ नआएकोले दिन सकिएन,” शर्माले भने।

शर्माको आफ्नो खेतमा लसुन रोप्ने मेसिन र ज्यालादारी मानिसहरु दुवै तरिकाबाट रोपाइँ भइरहेको छ। चीनबाट आएका कृषि विज्ञहरूका अनुसार ३० देखि ३५ डिग्री तापक्रममा पाँच महिनाभित्र राम्रो उत्पादन लिन सक्ने भएकाले यो क्षेत्रमा यसको सम्भावना निकै उच्च छ।

शर्माले कपिलवस्तुका किसानहरु धानपछि गहुँ खेती गर्छन, तर गहुँ खेतीमा खासै आम्दानी हुँदैन। यही कारण लसुन खेतीबाट किसानले चार गुणासम्म बढी फाइदा लिन सक्छन्। यही सोचले मैले चीनबाटै ३० वर्षसम्म लसुन खेती गरेका कृषि विज्ञ ल्याएर परीक्षण खेती सुरु गरेको हुँ शर्माले भने ।

शर्माले यसअघि दीपकुमार उपाध्याय फाउन्डेसनको आयोजनामा ‘कपिलवस्तु कृषि तारा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिसकेका छन्। कपिलवस्तु उर्वरभूमि भएको र यहाँका किसानमा केही नयाँ गर्न चाहना मजबूत भएकाले लसुन खेतीलाई नयाँ व्यावसायिक अवसरका रूपमा अघि बढाउन आफू उत्साहित भएको शर्माले बताए ।

“गत वर्ष लगाएको लसुनको बीउ गुणस्तरीय नभएकाले फेरि यो वर्ष पनि परीक्षणका रूपमा आफ्नै खेतमा सुरुवात गरेको छु सफल परिणाम आएपछि आगामी वर्षदेखि किसानका खेतहरुमा पनि व्यावसायिक ढंगले लसुन खेती गर्ने योजना छ,” शर्माले भने।

कपिलवस्तुको कृषि क्षेत्रलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको चाइनिज सान्तोङ लिङलिङ’ लसुन अहिले किसान तथा कृषि विज्ञको केन्द्रबिन्दु बनेको छ। पाँच महिनामै उत्पादन हुने, ठूलो दाना र बजार मूल्य उच्च हुने भएकाले यसले जिल्लामा लसुन उत्पादनमा कपिलवस्तु जिल्लामा क्रान्ति ल्याउने र छिमेकी राष्ट्र भारतमा निर्यात गर्न सकिन प्रवल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्