१६औं कपिलवस्तु महोत्सव भव्य रुपमा उद्घाटन


पालिका पत्र

२० मंसिर २०८२, शुक्रबार ०९:०२ मा प्रकाशित

१६ औं कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी विहिबारबाट औपचारिक रुपमा सुरु भएको छ । आज एक भव्य समारोहकाबीच लुम्बिनीस्थित रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश सुपोतले उद्घाटन गरेसंगै महोत्सव सुरु भएको हो ।

उद्घाटनका क्रममा नेपालसहित विश्वभर शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्नका लागि परेवा समेत उडाईएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान सभा सदस्य अत्तहर कमाल मुसलमानले आमसर्वसाधारण र नेता तथा तिनीहरुका आसेपासेबीचको विभेद अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले अहिले समाजमा नकारात्मकता बढी रहेको भन्दै विगतमा भन्दा विकासका धेरै काम भएको तर सुशासन कायममा धेरै सुधार गर्नुपर्ने आवश्यक औल्याउनुभयो ।

यस्तै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस महोत्सवले अर्थतन्त्र चलायमान गराउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादनको उपयोगलाई यस्ता महोत्सवले प्रर्बधन गर्नसक्नुपर्नेमा जोड दिनुभयो । लोप हुने अवस्थामा रहेका मौलिक संस्कृति, परम्पराको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउँदै उहाँले स्थानीय स्तरमा उत्पादित बस्तु तथा सेवाको विक्रिवितरण गर्ने थलोका रुपमा यस मेला स्थापित हुनुपर्र्ने बताउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, नेकपा एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, युवा व्यवसायी आशिस शर्मा, युवा नेता शक्ति सिंह ठकुरी लगायतका वक्ताहरुले कपिलवस्तु महोत्सव जिल्लाकै गरिमा भएको बताउँदै यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा भएको यस १६ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आगामी पुष १ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्