१९ मंसिर २०८२ शुक्रबार
लैंगिक हिंसा अन्त्यका लागि बाणगंगा नगरक्षेत्रका सरोकारवालाले सामूहिक प्रतिबद्धता जनाएका छन्। स्ट्रोम फाउण्डेसनको आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित ‘बिलिभ’ कार्यक्रमअन्तर्गत शुक्रबार ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ का क्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले लैंगिक हिंसा अन्त्य एक व्यक्तिले मात्र गर्न नसक्ने भन्दै सबैको साथ र सहकार्य अत्यावश्यक रहेको बताउनुभयो। पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत पनि हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै महिलाहरू आर्थिक रूपमा सक्षम भएमा हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शंकर पाण्डेले गरिबी, बेरोजगारीजस्ता संरचनात्मक समस्याले हिंसाका घटना बढाउँने बताउँदै ग्रास–रूट तहबाटै अभियान सक्रिय रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले बालबालिकालाई घर–परिवारबाटै असल शिक्षादेखि सत्कारसम्मको संस्कृति सिकाउनुपर्ने बताउनुभयो। समाजमा यौनसम्बन्धी विषयहरू खुला रूपमा राख्न नसक्दा समस्याहरू जटिल बन्दै जाने भन्दै खुलेर बहस गर्न सक्ने वातावरण आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विलिभ कार्यक्रमका व्यवस्थापक आरटी खान, बाणगंगा–८ का वडा अध्यक्ष बाबुराम अर्याल, कार्यपालिका सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
सो अवसरमा इन्सेककी रिमा विसिले लुम्बिनी प्रदेश तथा कपिलवस्तुमा लैंगिक हिंसाको वर्तमान अवस्था सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो। घटनाहरू बढ्दै गइरहेका कारण त्यसको रोकथामका लागि सरोकारवाला सबैको भूमिकालाई महत्वपूर्ण बताउनुभएको थियो।
कार्यक्रमको सञ्चालन ‘थिम लिड’ हिमा पौडेलले गर्नुभएको थियो। कार्यक्रममा सहभागी सबैले “म हिंसा गर्दिन, हिंसा सहन्न, देखे प्रतिकार गर्छु” भन्दै लैंगिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिज्ञा जनाएका थिए।

