भट्टराई जनता क्याम्पसको क्याम्पस प्रमुख र पाण्डे सहायक क्याम्पस प्रमुखमा नियुक्त


पालिका पत्र

२३ मंसिर २०८२, सोमबार ०८:३७ मा प्रकाशित

पिपरा । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरास्थित जनता क्याम्पसको क्याम्पस प्रमुखमा कृष्ण प्रसाद भट्टराई र सहायक क्याम्पस प्रमुखमा प्रकाश पाण्डे नियुक्त भएका छन्। बाणगंगा नगरपालिकाका प्रवक्ता, वडा नं। २ का वडा अध्यक्ष तथा जनता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले क्याम्पस व्यवस्थापन समितिको बैठकले भट्टराईलाई क्याम्पस प्रमुख र पाण्डेलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

जनता माविको संरक्षकत्वमा रहेको जनता क्याम्पसले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यसै शैक्षिक सत्रदेखि ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन आर्टिफिसियल इन्टेलिजेन्स (वि.वि.ए.एआई) विषयको अध्यापन गराउँदै आएको छ।

जनता क्याम्पसले सुरु गरेको वि.वि.ए.एआइ आर्टिफिसियल इन्टेलिजेन्स समय सान्दर्भिक र भविष्यमुखी विषय हो। यसले विद्यार्थीलाई व्यवस्थापनका आधारभूत सिद्धान्तहरूसँगै कृत्रिम बुद्धिमत्ताको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्दछ।

जनता मा.वि.का प्रधानाध्यापक रमेश पन्थीले भने जनता माविको संरक्षकत्वमा जनता क्याम्पसले वि.वि.ए.एआइ अत्यन्तै आधुनिक र माग भएको विषय अध्यापन गराउनु हामी सबैका लागि गौरवको विषय हो, यो शैक्षिक कार्यक्रमले यस क्षेत्रका विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्षम बनाउने र क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको नयाँ नेतृत्वले क्याम्पसलाई अझ उचाइमा पुर्‍याउनेमा आफू विश्वस्त रहेको बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले नयाँ नेतृत्वको नियुक्तिले जनता क्याम्पसको शैक्षिक र व्यवस्थापकीय कार्यलाई थप चुस्त र प्रभावकारी बनाउने बताए ।

जनता क्याम्पसमा हालै क्याम्पस प्रमुख नियुक्त कृष्ण प्रसाद भट्टराईले भने जनता क्याम्पसको प्रमुखको जिम्मेवारी पाउनु मेरा लागि अवसर र चुनौती दुवै हो। वि.वि.ए.एआई आधुनिक प्रविधि र व्यवस्थापनको संयोजन रहेको यो कोर्सलाई उत्कृष्ट बनाएर विद्यार्थीहरूलाई सफल करियर निर्माणमा योगदान गर्ने भट्टराईले बताए ।

सहायक क्याम्पस प्रमुख प्रकाश पाण्डेले भने नयाँ क्याम्पस प्रमुखसँग मिलेर काम गर्न पाउँदा म उत्साहित छु। हामीले क्याम्पसको शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री र अनुसन्धानमूलक बनाउनेछौँ। क्याम्पस प्रमुखमा नियक्त भट्टराई र सहायक क्याम्पस प्रमुखमा नियक्त पाण्डे लामो समयदेखि जनता मा.वि.मा शिक्षण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्