२२ गते सोमबार चारनम्बरको बुद्धरंगशालामा यी राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिले तातिदै


पालिका पत्र

२३ मंसिर २०८२, सोमबार ०९:०१ मा प्रकाशित

मंसिर २१, २०८२ आइतबार
बाणगंगा । कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ। पुष १ गतेसम्म चल्ने यो मेला कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाहरुको आकर्षणको केन्द्र बनेको छ।

महोत्सवमा आइतबार राष्ट्रिय चर्चित गायिका एन्जिला रेग्मीको विशेष प्रस्तुति रहेको थियो। उनका लोकप्रिय गीतहरू गाउँदा दर्शकहरू झुमेका थिए। महोत्सवमा गायक डोलराज परियार र विष्णु ठहराईले बेजोड प्रस्तुति दिएका थिए। महोत्सवमा स्थानीय कलाकारहरूले पनि बेजोड साथ दिँदै सांस्कृतिक कार्यक्रमलाई थप रोमाञ्चक बनेको थियो ।

२२ गते सोमबार पनि महोत्सव विशेष कार्यक्रमहरु रहेको छ। सोमबार राष्ट्रिय लोकदोहोरी गायक रामजी खाँण र राष्ट्रिय लोकदोहोरी गायिका शान्तारानी परियार, गायक श्रीनिवास चौधरीको बेजोड सांगितिक प्रस्तुति रहने छ । साथै चर्चित डान्सर सगुन थापाको आकर्षक नृत्य प्रस्तुतिले मेलाको माहोललाई थप मनोरञ्जनपूर्ण बनाउने महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले बताए ।

संयोजक खाँणले कपिलवस्तु र छिमेकी जिल्लाका उद्योगी, व्यवसायी, व्यापारी,आमा–वुवा, दाजु–भाई, दिदी–बहिनी तथा शुभचिन्तकहरूलाई मेला अवलोकन गर्न तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिको आनन्द लिन र सल्लाह सुझाव दिन हार्दिक अनुरोध गरेका छन् । महोत्सवमा नेपालमै पहिलो पटक सोनो सिटी हिउँमा खेलेको अनुभूतिमा दर्शकहरु झुम्मिएका थिए ।

यसैबीच आज भएको १४ औं कपिलवस्तु डान्स आइडल तर्फको बेजोड प्रस्तुतिमा प्रतियोगि नम्बर ४ की नेन्सी गुरुङ बाहिरिएकी छिन् । गुरुङ दर्शकले गरेको ५० प्रतिशत भोट र ५० प्रतिशत निर्णायकले दिएको अंकको आधारमा बाहिरिएकी हुन । सोमबार १२ जना प्रतिष्पर्धीबीच रोमाञ्चक प्रतिष्पर्धा हुने थप एक जना बाहिरिने प्रमुख निर्णायक हरिशरण रिजालले जानकारी दिए ।

१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्