कपिलवस्तु, — १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको अवसरमा मंगलबार बृहत् निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन्स क्लब अफ कपिलवस्तु दिदी–बहिनीकै संयुक्त आयोजनामा बुद्ध रंगशालास्थित कभर्ड हलमा बिहान ११ बजेदेखि अपराह्न ४ बजे सम्म शिविर चलाइएको थियो ।
शिविरमार्फत १०१ जनाले मधुमेह परीक्षण सहित आवश्यक स्वास्थ्य परामर्श सेवा लिएका छन् । मधुमेह परीक्षण तथा परामर्श सेवामा कन्सल्टेन्ट फिजिसियन डा. सुरज पोखरेलले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।
कार्यक्रम लायन भुवन प्रसाद पौडेलको संयोजन र लायन सागर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो । महोत्सवकै भीडभाडबीच जनस्वास्थ्यप्रति ध्यानाकर्षण गर्न, मधुमेहको जोखिमबारे जनचेतना बढाउन र समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विशेष उद्देश्यका साथ शिविर आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताए ।
आयोजक लायन्स क्लबहरू सामाजिक उत्तरदायित्वका कार्यक्रम, जनचेतनामूलक गतिविधि र स्वास्थ्य सेवा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

