बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता भव्यताका साथ सुरु


पालिका पत्र

२७ मंसिर २०८२, शुक्रबार ०९:३७ मा प्रकाशित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित उक्त प्रतियोगितामा आज विहिबारबाट बुड्ढी खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नुभएको हो ।सो क्रममा पूर्वमन्त्री आचार्यले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक ऊर्जा विकास गर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहबाटै खेल संरचना विस्तार हुनु उत्साहजनक भएको बताउँदै अब खेल पूर्वाधार निर्माणमा तीन तहकै सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । “युवालाई खेलमैदानतिर आकर्षित गरिनु आजको आवश्यकता हो । यसले राष्ट्रको समग्र विकासमा ठूलो टेवा पु¥याउँछ,” उहाँले भन्नुभयो ।

त्यस्तै, नगरप्रमुख केशवकुमार श्रेष्ठले मेयर कप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरपालिकाको प्रमुख वार्षिक खेलकुद कार्यक्रमका रुपमा रहेको बताउँदै यसलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरका रुपमा लिन आग्रह गर्नुभयो ।

उहाँले खेलकुदलाई स्वास्थ्यसंग मात्र नभएर अब देशको समृद्धिसंग जोडेर लगानी गर्न आवश्यक रहेको बताउनुभयो । “हाम्रा बालबालिका तथा युवाहरूलाई स्वस्थ, सक्षम र अनुशासित बनाउने माध्यम खेलकुद नै हो । नगरपालिका खेलकुद पूर्वाधार र कार्यक्रम विस्तारमा प्रतिबद्ध छ ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नगरले खेलकुद विकासको क्षेत्रमा दिएको प्राथमिकता र लगानी प्रशंसनीय रहेको भन्दै आगामी दिनमा यसलाई क्रमश वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

शिक्षा तथा खेलकुद शाखा प्रमुख कृष्णप्रसाद भट्टराईको संचालनमा सम्पन्न उक्त उद्घाटन समारोहमा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरुले मार्चपास गरेका थिए । जहाँ स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक तथा खेलकुदमा रुचि राख्ने नागरिकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

यस प्रतियोगिता आगामी मंसिर २९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्