शनिबार बुद्धरंगशाला झन् रौनकः समीक्षा र सिन्धुलीको नौमती बाजाको धमाकेदार प्रस्तुति रहने


पालिका पत्र

२८ मंसिर २०८२, शनिबार ०७:५८ मा प्रकाशित

मंसिर २७, २०८२ शनिबार ,

बाणगंगा । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले चारनम्बरको बुद्ध रंगशाला दर्शकको उत्साहजनक उपस्थितिले उत्सवमय बन्दै गएको छ ।

बुद्ध रंगशालाको साँझको सिचो मौसममा २६ गते शुक्रबार चर्चित राष्ट्रिय गायक प्रकाश सपुत, राष्ट्रिय गायिका सिमरन परियार र राष्ट्रिय लोकदोहोरी गायिका रितु शाहीका लोकप्रिय गीतहरू गाउँदा दर्शकहरू झुमेसँगै बुद्धरंगशाला चिसो मौसममा जम्मा भएको भीडले तातिएको थियो ।

बुद्ध रंगशालाको मंचबाट सपुतले आफ्ना चर्चित गीतहरू गाउन शुरू गर्ने बित्तिकै दर्शकहरू उत्साहमा झुमिन थालेका थिए । सपुतको मनछुने शब्द, लोकधुन र सशक्त प्रस्तुतीले वातावरण रोमाञ्चक बनायो। भीडले तालमा हात हल्लाउँदै र गीतसँगै गाउदै उनको ऊर्जा महसुस गरिरहे। प्रत्येक गीतपछि उठ्ने ताली र उत्साहपूर्ण नाराले महोत्सव स्थल गुन्जायमान बनायो। सपुतको आवाज र अभिव्यक्तिले दर्शकलाई अझ मोहित गरेको थियो । सपुतका गीतले सबैलाई भावुक बनायो र १६ औं कपिलवस्तु महोत्सवलाई अविस्मरणीय क्षणमा परिणत गर्दै वातावरण र आनन्दमय बनेको थियो ।

यसैगरी २७ गते शनिबार महोत्सवमा चर्चित गायिका समीक्षा अधिकारी, राष्ट्रिय गायक संविज सिंह राना, गायिका तथा कार्यक्रम संचालिका शोभा त्रिपाठी, नेपालमै चर्चित सिन्धुलीको नौमती बाजा, १४ औं कपिलवस्तु डान्स आइडल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहाले जानकारी दिए ।

यसैबीच महोत्सवमा १४ औं कपिलवस्तु डान्स आइडलको रोमाञ्चकताको उत्कर्षमा पुगेको छ। आज शुक्रबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नं. ६ की रंजिता क्षेत्री आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परेकी हुन् ।

प्रमुख निर्णायक हरिशरण रिजालले शुक्रबार ८ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड कला प्रस्तुत गरेको बताए । प्रतिष्पर्धामा क्षेत्री बाहिरिएपछि अब आइडलको ताजका लागि जम्मा ७ जना टप प्रतियोगीहरूबीच कडा प्रतिष्पर्धा हुनेछ । आगामी दिनहरुमा क्रमश प्रतियोगीहरु बाहिरिँदै जानेछन् ।डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेज चढ्न सफल भएका थिए ।

शनिबार प्रतियोगी नं. १ ओजस्वी क्षेत्री, प्रतियोगी नं. २ सचिन परियार, प्रतियोगी नं. ७ गिताञ्जली मगर, प्रतियोगी नं. ९ समृद्धि पन्त, प्रतियोगी नं .१० अपराजिता घिमिरे, प्रतियोगी नं.११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुबीच कडा रोमाञ्चक प्रतिष्पर्धा हुने १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।

१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।

आइडलमा हरेक प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्नैपर्ने दबाब छ। अब बाँकी रहेका १० प्रतिष्पर्धीहरूमध्ये कसले यो १४ औं संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरेला भन्ने नतिजा पुष १ गते घोषणा नहुँदासम्म दर्शकमा उत्कट जिज्ञासा र उत्सुकता छाउने छ ।

यसैबीच शुक्रबारबाट पहिलो पटक महोत्सवमा मम्मी डान्स प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १० जना प्रतियोगीहरुले आ–आफ्नो नृत्य प्रस्तुत गरेका थिए । मम्मी डान्सको अडियन्समा ३० जना सहभागी थिए भने १० जना स्टेज चढ्न सफल भएका हुन ।महोत्सवको समापन पुष १ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्