बुद्ध रंगशालामा सोमबार अन्तर्राष्ट्रिय साइकल रोल जिग गेम हुने बाणगंगा राइडर्सको आकर्षक प्रस्तुति


पालिका पत्र

२८ मंसिर २०८२, शनिबार ०९:१९ मा प्रकाशित

मंसिर २७, २०८२ शनिबार
बाणगंगा । बाणगंगाको चारनम्बर जितपुर बुद्धरंगशालामा मंसिर १८ गतेदेखि जारी १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा बाणगंगा राइडर्स क्लब कपिलवस्तुले मंसिर २९ गते सोमबार साइकल रोल जिग गेम प्रतियोगिता सञ्चालन गर्ने भएको छ। अन्तर्राष्ट्रिय शैलीको यो साइक्लिङ खेल महोत्सवको विशेष आकर्षण हुने आयोजक क्लबले जनाएको छ।

बाणगंगा राइडर्स क्लबका अध्यक्ष विष्णु सापकोटाले अन्तर्राष्ट्रिय स्तरको साइकल प्रतियोगिता झैँ अनुभूति दिने साइकल रोल जिग गेम महोत्सवको शोभा बढाउने मुख्य उद्देश्य रहेको बताए। उनले साइकल प्रयोगलाई प्रोत्साहन गर्ने, युवालाई खेलतर्फ आकर्षित गर्ने र स्वस्थ जीवनशैलीको सन्देश दिन पनि कार्यक्रम संचालन गर्न लागिएको बताए ।

महोत्सव मूल समारोह समिति संयोजक राजकुमार खाँणले यस्ता खेल गतिविधिले महोत्सवलाई थप जीवन्त बनाउने बताउँदै बाणगंगा राइडर्सको प्रयासप्रति आभार व्यक्त गरे ।

प्रतियोगिता मंसिर २९ गते सोमबार महोत्सव स्थल बुद्ध रंगशालामा हुनेछ। खेलमा प्रयोग हुने सबै साइकलहरू आयोजकले उपलब्ध गराउने जनाइएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार माउन्टेन बाइक, द्वितीय पुरस्कार रु। ५,००० र तृतीय पुरस्कार २,५०० राखिएको छ। यसैगरी प्रतियोगितमा सहभागी हुनका लागि दर्ता शुल्क प्रति व्यक्ति रु। २०० निर्धारण गरिएको बाणगंगा राइडर्स क्लबले जनाएको छ । बाणगंगा राइडर्स क्लबले गर्ने साइकल रोल जिग गेमले महोत्सवमा सहभागी सबैलाई मनोरञ्जन, प्रतिस्पर्धा र स्वास्थ्यसन्देश एकैसाथ दिने अपेक्षा गरिएको छ।

स्वास्थ्यपूर्ण जीवनशैली, स्वच्छ वातावरण र पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाई २०८० सालमा स्थापना भएको बाणगंगा राइडर्स क्लब कपिलवस्तु छोटो समयमै निरन्तर समाजिक, खेलकुद र पर्यटन अभियायानमा सक्रिय रहँदै आएको छ। बाणगंगा राइडर्स क्लबले यस अघि प्रथम बाणगंगा साइकल यात्रा २०८२ सफल आयोजना गरी राष्ट्रिय रुपमै चर्चा कमाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्