बाणगंगामा उद्यमशीलता प्रवर्द्धनका लागि बाख्रा पालन तालिम


पालिका पत्र

२९ मंसिर २०८२, आईतवार २०:०८ मा प्रकाशित

बाणगंगा ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. वनगाई शाखा कार्यालयद्वारा महिला उद्यमशीलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत एकदिने व्यवसायिक बाख्रा पालन तथा वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

शाखाका कर्मचारी सृजना महतको सञ्चालनमा सम्पन्न तालिम कार्यक्रम कर्मचारी प्रतिज्ञाबाट सुरु भएको थियो। कर्मचारी ललिता कुमारी चौधरी थारुले प्रतिज्ञा वाचन गर्नुभएको थियो भने कर्मचारी अरविन्द कुमार गुप्ताले सहभागी सदस्यहरूको स्वागत गर्नुभएको थियो। कार्यक्रम शाखा सञ्चालन अधिकृत गिरिराज रेश्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि वाणगंगा नगरपालिका वडा नं. ०२ का वडा सदस्य टोपकला बी.सी.ले महिलाहरू आत्मनिर्भर बन्न व्यवसायिक पशुपालन प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले सीप, लगानी र निरन्तरताको संयोजनले महिलालाई आर्थिक रूपमा सबल बनाउने र यस्ता तालिमले गाउँमै रोजगारी सिर्जना गर्ने धारणा व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षकहरू डा. यमलाल पोख्रेल, डा. जगदीश रिजाल तथा खुमानन्द पोख्रेलले व्यवसायिक बाख्रा पालनका विविध पक्षमा व्यावहारिक जानकारी प्रदान गर्नुभयो। तालिममा बाख्राको जात र महत्व, रोग व्यवस्थापन, आहार तथा प्रजनन व्यवस्थापन, बोकाको छनोट, बच्चाको हेरचाह र बजारिकरण विषयमा सहजीकरण गरिएको थियो। प्रशिक्षकहरूले बाख्रा पालनलाई न्यून लगानीमा राम्रो आम्दानी दिन सक्ने सम्भावनायुक्त व्यवसायका रूपमा विकास गर्न सकिने बताए।

समापन समारोहमा प्रमुख अतिथि वाणगंगा नगरपालिका वडा नं. ०७ की वडा सदस्य पार्वती सुनारले महिलाहरूलाई सीपमूलक तालिममार्फत उद्यमशीलतातर्फ उन्मुख गराउनु स्थानीय तहको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि वाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारीले जनउत्थान सामुदायिक लघुवित्तले ग्रामीण क्षेत्रमा आर्थिक सशक्तीकरणका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले वित्तीय पहुँचसँगै सीप विकास कार्यक्रमलाई जोड्नु दीगो विकासको बलियो आधार भएको उल्लेख गर्दै नगरपालिकाको पशु शाखाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा शाखा सञ्चालन अधिकृत गिरिराज रेश्मीले जनउत्थान सामुदायिक लघुवित्तको उद्देश्य बचत संकलन र कर्जा प्रवाहमा मात्र सीमित नभई सदस्यहरूको जीवनस्तर उकास्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले बाख्रा पालनजस्ता कार्यक्रमले महिलाहरूलाई आयआर्जनमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा ६० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्