पौष १, २०८२ मंगलबार
बुद्धरंगशाला । बाणगंगाको बुद्ध रंगशालमा मंसिर १८ गतेदेखि जारी १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको समापन आज मंगलबार पुष १ गते हुने भएको छ । आज विशेष कार्यक्रमका बीच महोत्सवको भव्य र सभ्य समापन गरिने महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए ।
कपिलवस्तु महोत्सवमा भएको १४ औं कपिलवस्तु डान्स आइडलको रोमाञ्चकता झनै उत्कर्ष चासोको केन्द्रमा पुगेको छ । सोमबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नं. २ का सचिन परियार आइडलको यात्राबाट बाहिरिन पुगे । दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परे ।
आइडलका प्रमुख निर्णायक हरिशरण रिजालले आइतबार ५ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड नृत्य प्रस्तुत गरेको बताए । प्रतिष्पर्धामा परियार बाहिरिएपछि अब आइडलको ताजका लागि जम्मा ४ जना प्रतिष्पर्धीहरूबीच झनै रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । सोमबार राती ९ः०० बजेसम्म भोटिङ्ग समय तोकिएको र राति नै प्रतियोगीहरुले पाएको मत गणना हुने र मतका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान तय भएसँगै महोत्सव समापन पुष १ गते मंगलबार ग्रान्ड फिनालीको घोषणा हुने आइडलका निर्णायक प्रेम थापाले जानकारी दिए ।
समापनमा प्रतियोगी नं. ७ गिताञ्जली मगर, प्रतियोगी नं. ९ समृद्धि पन्त, प्रतियोगी नं. ११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुले नृत्य प्रस्तुत गर्ने र डान्स आइडल को उपाधी घोषणा हुने र दर्शकहरुको कौतहुलता मेटिने १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले बताए । आइडलमा १५ जना प्रतियोगीहरु स्टेज चढेका थिए ।
१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ ट्रफि मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।

