कपिलवस्तुमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न


पालिका पत्र

५ पुष २०८२, शनिबार ०८:०० मा प्रकाशित

कपिलवस्तु नगरपालिका–२ बरदहवामा अवस्थित गौतम बुद्ध आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा विद्यालयका कुल १३४ जना बालबालिकाको आँखाको परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो।

नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समिति, कपिलवस्तु नगरपालिका र नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुको सहयोग तथा सिद्धार्थ नेत्रालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शिविरमा सिद्धार्थ नेत्रालयका प्रबन्धक सुदन वाग्ले सहित तीन सदस्यीय चिकित्सक टोलीले बालबालिकाको आँखाको चेकजाँच गरेको थियो।

सामाजिक विकास परिषद् नेपालद्वारा आयोजित उक्त निःशुल्क आँखा शिविरमा प्रमुख अतिथिका रूपमा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै ५२ वटा विद्यालयमा यस्ता जनहितकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुका सचिव इन्दिरा देवकोटा, विद्यालयकी प्रधानाध्यापक सुजाता सुवाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा विभिन्न समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक सामाजिक विकास परिषद् नेपालले जनाएको छ

प्रतिक्रिया दिनुहोस्