राप्रपा बाणगंगाको अध्यक्षमा खिमबहादुर बिसी


पालिका पत्र

८ पुष २०८२, मंगलवार २०:२७ मा प्रकाशित

बाणगंगा, ०८ पुस । कपिलवस्तुको बाणगंगा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । मंगलबार बाणगंगा नगरपालिका–१ बैरियामा सम्पन्न अधिवेशनले खिमबहादुर बिसीको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र प्रसाद चौधरी र हरिप्रसाद घिमिरे, कोषाध्यक्षमा भरत मल्ल, सचिवमा भिमराज शाही, नगर प्रवक्तामा नवराज घिमिरे तथा सह–सचिवमा सागर हमाल निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरूमा ईश्वरी खनाल, अशोक क्षेत्री, कृष्ण कुँवर, धनिश्वर पौडेल र मदन मल्ल चयन लगायत निर्वाचित हुनुभएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य ध्रुवबहादुर रायमाझीले मुलुकमा स्थायित्व कायम गर्न, भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्न पूर्वराजा, जेनेजी र राजनीतिक दलहरूबीच नवीन समझदारी आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि दबाब सिर्जना गर्न राप्रपाले वडातहदेखि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

उहाँले वर्तमान संविधानभित्रै रहेर राप्रपाले आफ्ना मुद्दा स्थापित गर्ने स्पष्ट पार्दै फागुन २१ मा हुने भनिएको चुनाव जेनेजी आन्दोलनको माग नभएको दाबी गर्नुभयो । यस्तो परिस्थितिमा हुने चुनावले मुलुकलाई निकास नदिने उहाँको भनाइ थियो । साथै, देशको विकास, समृद्धि र जनताको हितका लागि राप्रपाले हिन्दू अधिराज्यको मुद्दा उठाउँदै आएको जिकिर गर्नुभयो ।

प्रमुख अतिथि रायमाझीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बाणगंगा क्षेत्रमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सक्रिय रूपमा खटिन निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेशका कोषाध्यक्ष कृष्ण पौडेल, राप्रपाका जिल्ला अध्यक्ष नारायणबहादुर सिंह, राप्रपा कपिलवस्तुका जिल्ला संगठन विभाग प्रमुख राजेन्द्र विक्रम शाह, नेपाली कांग्रेस बाणगंगाका नगरसभापति विष्णु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरसभापति बुद्धिसागर बेल्बासे लगायतका वक्ताहरूले पुराना दलहरू लामो समयदेखि शासनसत्तामा रहे पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्दै अब वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गिरीराज कँडेलको अध्यक्षमा सम्पन्न उक्त तेस्रो अधिवेशनको संचालन अर्चिता आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्