खानेपानी योजनाको दीगो सञ्चालनमा उपभोक्ताको भूमिका महत्त्वपूर्णः सांसद पन्थी


पालिका पत्र

१३ पुष २०८२, आईतवार २०:०३ मा प्रकाशित

बाणगंगा नगरपालिका–८ अन्तर्गत मोतिपुर ४ र ६ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । “स्वच्छ पानी, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ समितिको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा साधारणसभा सम्पन्न भएपछि अधिवेशन प्रारम्भ गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै राज्यका सबै तहले खानेपानी तथा सरसफाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले ग्रामीण भेगमा सुरक्षित र पर्याप्त खानेपानीको पहुँच विस्तारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

यस्तै खानेपानी तथा सरसफाइ महासंघका केन्द्रीय सदस्य विश्व कार्कीले खानेपानी तथा सरसफाइ योजनाको दिगोपनाका लागि उपभोक्ताको स्वामित्व र जिम्मेवारी महत्त्वपूर्ण हुने बताए । उनले योजना निर्माणदेखि सञ्चालन र संरक्षणसम्म उपभोक्ता स्वयं सक्रिय बने मात्र योजनाले दीर्घकालीन सफलता हासिल गर्ने उल्लेख गरे ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले पारदर्शी व्यवस्थापन, नियमित लेखापरीक्षण र समयमै मर्मतसम्भारमा ध्यान दिनुपर्ने बताए । उनले समितिले गरेका प्रयास प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा सेवा विस्तार गर्न सुझाव दिए ।

समितिका अध्यक्ष चेत नारायण भण्डारीले सीमित स्रोत र साधनका बाबजुद निरन्तरको अथक प्रयासबाट संस्थालाई यहाँसम्म ल्याउन सफल भएको जानकारी दिए । उनले खानेपानी सेवाको गुणस्तर सुधार, पाइपलाइन विस्तार र स्रोत संरक्षणलाई आगामी कार्ययोजनाको प्राथमिकतामा राखिएको बताए । साथै उनले आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आम्दानी–खर्च विवरण सभामा पेश गरेका थिए ।

यस्तै संस्थाका सचिव डिल्लीराज रेग्मीले २०७१ सालदेखि २०८२ सालसम्म सञ्चालन गरिएका कार्यक्रम, योजना र गतिविधिबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा खानेपानी सेवा विस्तार, सरसफाइ सचेतना कार्यक्रम तथा उपभोक्ताको सहभागिता बढाउन गरिएका प्रयासहरूको विवरण समेटिएको थियो ।

संस्थाकी कोषाध्यक्ष राधिका देवी पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिन् । उनले आर्थिक अनुशासन कायम गर्दै संस्थाको आर्थिक अवस्था सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ताहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । साधारणसभामा हालसम्म सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ योजनाको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो ।

सभामा बोल्ने वक्ताहरूले स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्य र समग्र जीवनस्तर सुधारका आधार भएको उल्लेख गर्दै योजनाको दीगो सञ्चालनका लागि उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । साथै योजनाको नियमित मर्मत, व्यवस्थापन र पारदर्शितामा विशेष जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्