बाणगंगा, १४ पुस ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको नवौं अधिवेशनबाट कपिलवस्तुका युवा व्यवसायी रजनिस राज आचार्य प्रथम उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। बुटवलमा सम्पन्न एशोसियसनको २०औँ वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले आचार्यलाई उक्त गरिमामय जिम्मेवारी सुम्पिएको हो।
अधिवेशनले पेट्रोलियम व्यवसाय क्षेत्रमा सक्रिय, दक्ष र जिम्मेवार नेतृत्व चयन गर्ने क्रममा आचार्यलाई उपयुक्त ठहर गर्दै नेतृत्वमा ल्याएको हो। लामो समयदेखि पेट्रोलियम व्यवसायमा संलग्न रहँदै आउनुभएका आचार्य अनुभवी तथा ऊर्जाशील युवा व्यवसायीका रूपमा परिचित हुनुहुन्छ। व्यवसायिक पारदर्शिता, उपभोक्ता हित संरक्षण र संस्थागत सुदृढीकरणमा उहाँको योगदान प्रभावकारी रहेको भन्दै अधिवेशन सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रथम उपाध्यक्ष आचार्यले आफूलाई दिएको विश्वासप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पेट्रोलियम डिलर्सको हकहित संरक्षण, व्यवसायिक समस्या समाधान तथा एशोसियसनलाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
अधिवेशनबाट निर्वाचित अध्यक्ष हिमाल गैरेसहित सम्पूर्ण कार्यसमितिको पदस्थापना समारोह समेत सम्पन्न गरिएको छ। एक औपचारिक कार्यक्रमबीच अध्यक्ष, पदाधिकारी, सदस्य, विभिन्न जिल्लाका संयोजक तथा लेखा समितिमा निर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको हो। निर्वाचन आयुक्त खिमानन्द भट्टराईले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुभएको थियो।
अधिवेशनबाट एशोसियसनको अध्यक्षमा हिमाल गैरे, वरिष्ठ उपाध्यक्षमा हरिराम कसौधन, प्रथम उपाध्यक्षमा रजनिस राज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा डाँसीराम अधिकारी, कोषाध्यक्षमा विशाल गैरे, सचिवमा लोकप्रसाद भुसाल, सह–कोषाध्यक्षमा अभिषेक भारी तथा सह–सचिवमा घनश्यामप्रसाद कान्दु सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
त्यसैगरी रुपन्देही संयोजकमा सुनिल थापा, कपिलवस्तु संयोजकमा मोहम्मद असलम खान, नवलपरासी संयोजकमा राजेशकुमार गुप्ता, पाल्पा–स्याङ्जा संयोजकमा ज्ञानप्रसाद भट्टराई तथा गुल्मी, अर्घाखाँची, बागलुङ र रुकुम पूर्वको संयोजकमा डिलाराम न्यौपाने चयन हुनुभएको छ।
कार्यसमिति सदस्यहरूमा दिनेशकुमार कसौधन, सुखराम बर्मा सोनार, विजयकुमार कसौधन, भरतजंग कुँवर, दुर्गाप्रसाद चापागाईं, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्टराई, कम्पोटर पासी, बजिन्द्रकुमार कसौधन, चुडामणि न्यौपाने र विजयकुमार बनियाँ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो।
नवनिर्वाचित अध्यक्ष हिमाल गैरेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्था तथा व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पेट्रोलियम व्यवसायलाई मर्यादित, व्यवस्थित र दिगो बनाउन सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।
पदस्थापना कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधान तथा लुम्बिनी प्रदेश अध्यक्ष प्रेम न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यवसायीको हकहितका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

