साहित्यिक कार्यक्रमले विद्यार्थीको शैक्षिक जग बलियो बनाउँछ : नगर प्रमुख अर्याल


पालिका पत्र

१५ पुष २०८२, मंगलवार २०:०६ मा प्रकाशित

बाणगंगा, १५ पुस । कवि शिरोमणि लेखनाथ पौडेलको १४२औँ जन्मजयन्तीको अवसरमा बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजना तथा बाणगङ्गा नगरपालिकाको सहयोगमा नगरपालिका सभाहलमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगङ्गा नगर प्रमुख चक्रमणी अर्याल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नगर उप–प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल, बाणगङ्गा सामुदायिक पुस्तकालयका उपाध्यक्ष दोलख बहादुर पछाई, बाणगङ्गा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरे, राधा पाण्डे, देवका भण्डारी, दधी स्मृति साहित्य समाजका कोषाध्यक्ष बाबुराम भण्डारी, प्रकाश भुसाल, राधिका आचार्य, साहित्यप्रेमी शिक्षक बुद्धिराज आचार्य, अशोक बेल्बासे, लालमणि अधिकारी, डिल्लीराम भट्टराई, लक्ष्मण आचार्य, कमला ज्ञवालीलगायतको आतिथ्यता रहेको थियो ।

‘नैतिकता र सदाचार’ शीर्षकमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगितामा ११ जना प्रतियोगी सहभागी भएका थिए। प्रतियोगितामा बाणगङ्गा माध्यमिक विद्यालय लौगाइमा कक्षा ११ मा अध्ययनरत छात्रा जोशिका कँडेल (निशा) प्रथम, सगरमाथा बोर्डिङ स्कुलका आयुष अधिकारी दोस्रो, बाल ज्योति बोर्डिङ स्कुलकी रुही थापा तेस्रो तथा ज्ञानपुञ्ज बोर्डिङ स्कुलका शिखर अर्याल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । विजयी प्रतियोगीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शैक्षिक व्यक्तित्व सूर्यप्रसाद भुसालको संयोजकत्वमा कृष्णप्रसाद घिमिरे र लेखनाथ घिमिरे सदस्य रहेको मूल्यांकन समितिले प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । कार्यक्रममा प्रतियोगीहरूका साथै राधा पाण्डे, डिल्लीराम भट्टराई, लालमणि भट्टराई, लक्ष्मण आचार्य र कमला ज्ञवालीले शुभकामना मन्तव्यसहित आफ्ना रचना वाचन गर्नुभएको थियो ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख चक्रमणी अर्यालले यस्ता सिर्जनशील प्रतियोगिताले नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक तथा साहित्यिक जग मजबुत बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई नगरपालिका निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कवि शिरोमणि लेखनाथ पौडेलको संक्षिप्त महिमाबारे चर्चा गर्दै जीवनमा गति, यति र लयको महत्व बुझेर अघि बढ्न शिक्षक तथा विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सल्लाहकार बुद्धिसागर बेल्बासेले आफ्नै गीतिरचनासहित स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमबारे जानकारी फोकल पर्सन बुद्धिसागर सुवेदीले दिनुभएको हो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानकी सदस्य राधा पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्