वीरगन्ज बजारमा हालै एक सय १४ वटा एक हजारका नोट फेला परेका छन् । प्रहरीले हजारका ती नक्कली नोट बरामद गरी नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय वीरगञ्जमा बुझाएको छ ।
विशेषगरी निर्वाचनको समयमा यस्ता फर्जी नोटहरूको कारोबार बढ्न सक्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउनु जरुरी देखिएको केन्द्रीय बैंकको प्रदेश कार्यालयले बताएको छ ।
यस्ता नक्कली नोटहरू सर्वसाधारणको हातमा पुगेमा दिनभर काम गरेर पाउने पारिश्रमिक केवल कागजको खोस्टो जस्तो मात्र हुने र यसले वित्तीय प्रणालीमा गम्भीर असर पुर्याउने उल्लेख गरी सतर्कता अपनाउनू भनेको हो । चुनावका आसपासमा प्रायः यस्ता नक्कली नोटहरू बजारमा देखिने पुरानो प्रवृत्ति भएको जनाउँदै सर्वसाधारणलाई यस्ता जाली नोट चिनेर मात्र लेनदेन गर्न केन्द्रीय बैंकको वीरगन्ज कार्यालयका प्रमुख तथा निर्देशक सुशील पौडेलले आग्रह गरे ।
उनका अनुसार, कहिलेकाहीँ हजारका एकाध नक्कली नोटहरू आउने गरेको थियो । यति ठूलो संख्यामा फेला परेको थिएन । यस विषयमा सचेतना फैलाउन भोजपुरीलगायतका स्थानीय भाषामा सामग्री तयार पारिएको र भिडियोमार्फत सर्वसाधारणलाई सचेत गराइरहेको छ ।
नेपाल राष्ट्र बैंकले पनि पटक–पटक सक्कली नोट चिन्न सुझाउँदै आएको छ । जसका लागि नोटको बनावटबारे जानकारी राख्नू भनेको छ । पौडेलले भने, “नक्कली नोट छाम्दा चिप्लो हुन्छ भने सक्कली नोट छाम्दा अग्लो–होचो र खस्रो महसुस हुन्छ । सक्कली नोटलाई उज्यालोमा हेर्दा सेक्युरिटी थ्रेड र पानी छाप स्पष्ट देखिन्छ । नोट ढल्काउँदा सेक्युरिटी थ्रेडको रङ परिवर्तन हुने र अंकहरू चल्ने गर्छ ।”
कसरी चिन्ने सक्कली र नक्कली नोट ?
आँखाले देख्न सकिनेगरी नोटमा केही विशेषताहरू राखिएको हुन्छ । तिनको पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । सक्कली नोटमा पानी छाप हुन्छ, जसलाई उज्यालोमा हेर्दा लालीगुराँस फूलको आकृति स्पष्ट रूपमा देखिन्छ ।
नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रूपमा देखिँदैन । सक्कली नोटमा सुरक्षण धागो हुन्छ, जसलाई उज्यालोमा हेर्दा अंग्रेजीमा एनआरबी लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा त्यस्तो धागोमा अक्षर छोपेको हुन सक्छ ।
सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रङ पानीमा भिज्दा पनि खुइँलिदैन तथा लत्पतिँदैन भने नक्कली नोट पानीमा भिज्दा रङ खुइलिन्छ तथा लत्पतिन्छ ।

