‘आलोचना होइन, समाधानसहितको गुनासो राखौँ’: मेयर अर्याल


पालिका पत्र

१६ पुष २०८२, बुधबार १९:४९ मा प्रकाशित

‘आलोचना होइन, समाधानसहितको गुनासो राखौँ’ भन्दै बाणगंगा नगरपालिकाले आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाईमा नागरिकका सवाल, गुनासा र जिज्ञासामाथि नगर नेतृत्वले प्रत्यक्ष जवाफ दिएको छ।

बाणगंगा, १६ पुस ।
बाणगंगा नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोग तथा बाणगंगा नगरपालिकाको आयोजनामा वडा नम्बर ७ को वडा कार्यालयमा आयोजित सुनुवाई कार्यक्रममा सहभागीहरूले नगरसँग सम्बन्धित सवाल, जनगुनासा तथा जिज्ञासाहरू राखेका थिए।

कार्यक्रममा बोल्दै नगरप्रमुख चक्र अर्यालले सबैको साथ, सहकार्य र सहभागिताबाट मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै नागरिकसँग हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो। नगरले सुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै सुनुवाईमा उठेका गुनासाहरू सत्य रहेको र तिनको समाधानका लागि नगर प्रतिबद्ध रहेको बताउनुभयो।

नगरप्रमुख अर्यालले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमले आफूहरूलाई सुधार्ने अवसर दिने भन्दै सकारात्मक आलोचना सधैं स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पछिल्लो समय सामाजिक सञ्जालमा रचनात्मक आलोचनाभन्दा रिसइवी साध्ने उद्देश्यले टिप्पणी हुने गरेको उल्लेख गर्दै, त्यस्ता विषय सार्वजनिक मञ्चमै ढुक्कसँग राख्न उहाँले आग्रह गर्नुभयो।

यस्तै उपप्रमुख रिता कुमारी चौधरीले नगरको समग्र विकासका लागि आफूहरू निरन्तर सक्रिय रहेको बताउँदै काम गर्ने क्रममा देखिएका कमजोरीहरू यस्ता सार्वजनिक सुनुवाईमार्फत जानकारी गराउन आग्रह गर्नुभयो। नगरपालिकाले महिला लक्षित कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन विभिन्न व्यवसायिक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले नागरिकका वास्तविक गुनासा सुन्न र सम्बोधन गर्ने तयारीसहित सार्वजनिक सुनुवाईमा सहभागिता जनाए पनि अपेक्षाअनुसार गुनासा नआएको बताउनुभयो। यसलाई सकारात्मक रूपमा लिँदै वडाको विकासमा जनस्तरबाट राम्रो साथ र सहयोग मिलिरहेको उल्लेख गर्नुभयो। वडाले चार वटा योजनालाई प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो।

गिरीका अनुसार बनगाई–मोतिपुर सडक निर्माण, ‘एक घर एक धारा’ अभियान अन्तर्गत सबै घरधुरीमा खानेपानीको पहुँच, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको खारखानी पार्क तथा पिकनिक स्थल, साथै लक्ष्मणघाट व्यवस्थापनमा वडा सक्रिय रहेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले विकाससँगै विनाशको जोखिम पनि रहने भएकाले सन्तुलन आवश्यक रहेको उल्लेख गर्नुभयो। नागरिकका गुनासा संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउनु पत्रकारको दायित्व भएको भन्दै जनगुनासोको यथोचित सम्बोधनका लागि महासंघ प्रतिबद्ध रहेको बताउनुभयो।

फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्वासले नगरपालिकाले सञ्चालन गर्ने विकास आयोजना तथा निर्माण कार्यको नियमित अनुगमन आवश्यक रहेको बताउँदै जनस्तरबाट आएका समस्या समाधान गर्दै कामलाई तीव्रता दिनुपर्ने सुझाव दिनुभयो।

सार्वजनिक सुनुवाईमा स्थानीय रामबहादुर केसीले नदिजन्य पदार्थ निकासी नहुँदा विकास निर्माणका काम ठप्प भएको गुनासो गर्दै शीघ्र निकासीको व्यवस्था गर्न माग गर्नुभयो। जनक थापाले खारखानी पिकनिक क्षेत्रको व्यवस्थित विकास र लक्ष्मणघाटमा शवदाह व्यवस्थापनका लागि सामुदायिक वनसँग सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै विष्णुप्रसाद आचार्यले मालपोत कार्यालयमा सेवा लिन जाँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो राख्दै सेवा प्रवाह सुधार गर्न माग गर्नुभयो। सहभागीहरूले आगामी बजेटमा सिंचाइलाई प्राथमिकता दिन, महिलालाई उद्यमशील बनाउने कार्यक्रम विस्तार गर्न तथा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा गुणस्तरमा विशेष ध्यान दिन सुझाव दिएका थिए।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीले चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष दिपा महतले नागरिक प्रतिवेदन तथा कोषाध्यक्ष मोहन बेल्वासेले बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

नगरप्रमुख चक्र अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघका सचिव सनिउल्ला धोबीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्