सहकार्य र समन्वय बिना विकास सम्भव छैनः अध्यक्ष थापा मगर


पालिका पत्र

१७ पुष २०८२, बिहीबार १९:५१ मा प्रकाशित

विजयनगर ।
विजयनगर गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा तथा विजयनगर गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्यको प्रगति विवरण सार्वजनिक गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल थापा मगरले पालिकाको विकासका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँपालिकाभित्र रहेका सबै जातजाति, धर्म र भाषाको संरक्षण गर्नु साझा दायित्व भएको उल्लेख गर्दै कार्यक्रममा प्राप्त सुझाव र गुनासोलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष थापाले यस वर्ष शिक्षातर्फ उल्लेख्य बजेट विनियोजन गर्न सफल भएको जानकारी दिनुभयो। तर जेन्जी आन्दोलनका कारण ११ वटा विद्यालय र ५ वटा सडकका बजेट रोकिएको उहाँको भनाइ थियो। ठाकुरापुर खोलाको तटबन्ध निर्माणका लागि हाल बजेट कटौती भए पनि चालु आर्थिक वर्षमै प्राथमिकताका साथ काम गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो।

गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत अनुदान प्रदान गरिरहेको, खानेपानीतर्फ ‘एक घर, एक फिल्टर’ कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिँदै यसलाई सबै क्षेत्रमा विस्तार गर्ने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभयो।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय लालु चौधरीले वडा नम्बर ७ मा रहेको खानेपानी ट्यांकी तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो। यस्तै गौतम यादवले वडा नम्बर ७ स्थित बड्का तालमा पालिकाले ठेक्का लिइसके पनि स्थानीयले शुल्क तिर्नुपरेको विषयमा ध्यानाकर्षण गराउनुभयो। साथै पालिकाबाट वितरण गरिएका कृषि सामग्री उपभोक्ताले नै बिक्री गर्ने गरेको गुनासो समेत राख्नुभयो।

यसैगरी गंगा कुमारी शर्माले तरकारी संकलन केन्द्र सञ्चालनको माग गर्नुभयो भने निशा सिग्देलले आमाका लागि रात्रिकालीन कक्षा सञ्चालन गर्दा अभिभावक शिक्षा कार्यक्रम अझ प्रभावकारी हुने धारणा राख्नुभयो। स्थानीय गुरु प्रसाद पासी, स्वस्तिका पन्थलगायतले पनि विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले चालु आर्थिक वर्षको हालसम्म १८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे, कृषि शाखा प्रमुख श्याम सुन्दर माली, वडा अध्यक्ष प्रेम बहादुर कलवार लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिपा महतले राख्नुभएको थियो भने सञ्चालन सचिव सनि उल्ला धोबीले गर्नुभएको थियो।

कार्यक्रममा नागरिक प्रतिवेदन दिपा महत र बर्हिगमन प्रतिवेदन नेपाल पत्रकार महासंघका सदस्य रामप्रकट कोरीले प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्