जितपुर, १९ पुस ।
सामुदायिक रेडियो मायादेवीका अध्यक्ष तथा वरिष्ठ समाजसेवी कृष्ण बहादुर कँवरको सहयोगमा भलवाडमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरबाट ४ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शुक्रबार कोइलिचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वनकै प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखासम्बन्धी विभिन्न रोगहरूको निःशुल्क परीक्षण गरिनुका साथै आवश्यक परेमा शल्यक्रियासमेत निःशुल्क गरिने व्यवस्था गरिएको थियो । शिविरबाट आँखाका बिरामीहरूलाई ठूलो राहत पुगेको सेवाग्राहीहरूले बताएका छन् । स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल पौडेलले ग्रामीण भेगका नागरिकहरू आर्थिक तथा भौगोलिक कठिनाइका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरले समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वरिष्ठ समाजसेवी कृष्ण बहादुर कँवरले आँखाको जाँच मात्र नभई अपरेसन गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताए । उनले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै आर्थिक अवस्थाका कारण कोही पनि उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आफूले निरन्तर सामाजिक सेवामा योगदान गर्दै आएको बताए ।
कार्यक्रममा बरिष्ठ समाजसेवी नारायण खनालले समाजका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरूका लागि यस्ता स्वास्थ्य शिविर अत्यन्त आवश्यक रहेको बताए । उनले सामुदायिक संस्थाहरूको सक्रियताले स्थानीयस्तरमै गुणस्तरीय सेवा दिन सम्भव भएको उल्लेख गरे ।
स्थानीय तथा आसपासका क्षेत्रका आँखासम्बन्धी समस्या भएका सर्वसाधारण नागरिकलाई शिविरको अधिकतम लाभ भएको सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालले बताए । उनका अनुसार शिविरले पाआर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई प्रत्यक्ष राहत पुर्याएको छ ।
आयोजक संस्थाका अनुसार स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै समुदायस्तरमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा दृष्टि रोग विशेषज्ञ प्रमोद यादवले चेकजाँच सेवा दिएका थिए । शिविर कार्यक्रमको औपचारिक सञ्चालन सामुदायिक वनका सचिव शुम्मा क्षेत्रीले गर्नुभएको थियो ।
