काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलको नेतृत्वमा गएको एक टोलीले आइतबार गृह मन्त्रालयमा भेट गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न मागसहितको ज्ञापनपत्र बुझाएको छ।
नगरपालिकाका वडा नं. ३ ठाडा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गरिदिनुपर्ने मागसहित नगर प्रमुखसहितको टोलीले गृहमन्त्री अर्यालसमक्ष निवेदन पेश गरेको हो। सेवाग्राहीको सहज पहुँच, स्थानीयस्तरमै प्रशासनिक सेवा उपलब्ध गराउने राज्यको दायित्व र नागरिकको समय तथा खर्च बचत हुने आधार प्रस्तुत गर्दै उक्त माग गरिएको जनाइएको छ।
ज्ञापनपत्रमा नेपालकै ठूलो क्षेत्रफल भएको स्थानीय तहका रूपमा रहेको शितगंगा नगरपालिकाको भौगोलिक अवस्था, सेवा क्षेत्रको विस्तार, जनसङ्ख्याको वितरण, प्रशासनिक पहुँचको कठिनाइ, लामो दूरीका कारण सेवाग्राहीले व्यहोर्नु पर्ने आर्थिक तथा सामाजिक भारलाई उल्लेख गरिएको छ। साथै स्थानीय शान्ति सुरक्षा, नागरिकता, राहदानी (पासपोर्ट) लगायतका प्रत्यक्ष प्रशासनिक सेवालाई जनताको पहुँचमा ल्याउन इलाका प्रशासन कार्यालय अत्यावश्यक रहेको जनाइएको छ।
हाल शितगंगा नगरपालिकामा १४ वटा वडाहरू रहेका छन्। यसैबीच, मन्त्रिपरिषद्को भदौ ९ गते बसेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरिसकेको सन्दर्भमा शितगंगामा पनि तत्काल कार्यालय स्थापना गरिनुपर्ने माग अघि सारिएको छ।

