कपिलवस्तु । कपिलवस्तुमा स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटना सोमबार बिहान करिब ९ः१० बजे मायादेवी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडक खण्डमा भएको हो।
फुलिकाबाट बग्दी तर्फ जाँदै गरेको लु १ क ५७२२ नम्बरको विद्यार्थी बोकेको स्कुल बस अचानक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उक्त बस सुद्धोधन गाउँपालिका–१ बग्दीमा रहेको सनलाइट इङ्लिस बोर्डिङ स्कुलको रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहका अनुसार बसको स्टेरिङ फेल भएपछि दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबै विद्यार्थीको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि सिटी अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ७ जना विद्यार्थी घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते विद्यार्थीहरूको विवरण यस प्रकार रहेको छः
मायादेवी–३ खैरेटी निवासी १२ वर्षीय प्रान्सु पाल (मुखमा चोट, अवस्था सामान्य),
मायादेवी–३ खैरेटीकी १४ वर्षीया अनिता बराई (बाहिरी चोटपटक छैन),
मायादेवी–३ खैरेटी निवासी ११ वर्षीय विशेष थारु (अनुहारमा सामान्य चोट),
मायादेवी–३ खैरेटी निवासी ८ वर्षीय अमन यादव (बाहिरी चोट छैन),
मायादेवी–३ खैरेटी निवासी ८ वर्षीय सुदीप यादव (बाहिरी चोट छैन),
मायादेवी–३ टिकौली निवासी १० वर्षीया आईसा भट्टराई (बाहिरी चोट छैन)
र मायादेवी–१ सिमरौटी निवासी १४ वर्षीया गुन्जा कहार (टाउकोमा भित्री चोट) रहेका छन्। सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

