घरदैलोमै सेवा पुग्दा नागरिक उत्साहित


पालिका पत्र

२१ पुष २०८२, सोमबार १५:२४ मा प्रकाशित

कपिलवस्तु । बाणगंगा नगरपालिका, कपिलवस्तुले आइतबार सञ्चालन गरेको घुम्ती शिविरबाट ९ सय ७० जना सेवाग्राही लाभान्वित भएका छन्। नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको शिविर बाणगंगा नगरपालिका वडा नं. ८ को आयोजना तथा वडा कार्यालयको समन्वयमा श्री मोतिपुर ४/६ खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा सम्पन्न भएको हो।

शिविरमार्फत नगरपालिकाका विभिन्न शाखाबाट प्रदान गरिने सेवा एकै स्थानमा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। घुम्ती शिविरमा पशु सेवा अन्तर्गत २ सय १२ जना, कृषि विकास सम्बन्धी १ सय ८४ जना तथा आयुर्वेद सेवाबाट ३ सय १२ जनाले सेवा लिएका छन्। यस्तै स्वास्थ्य सेवाबाट २ सय १५ जना लाभान्वित भएका छन्।

त्यसैगरी राजश्व, फर्म तथा व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी परामर्श सेवा ७ जनाले लिएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धी सेवा ३४ जनाले प्राप्त गरेका छन्। सुरक्षित आप्रवासन (सामी) तथा रोजगार परामर्श सेवा ६ जनाले लिएको नगरपालिकाले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

शिविरको अवलोकन गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको बताउनुभयो। नगरपालिकाका सेवा लिन नागरिकलाई कार्यालयसम्म धाउन नपरोस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उल्लेख गर्दै यसले सेवामा पहुँच बढाउनुका साथै नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध थप सुदृढ भएको उहाँले बताउनुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले घुम्ती शिविरमार्फत एकै स्थानमा बहुसेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र झन्झट कम भएको बताउनुभयो। नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्