कपिलवस्तु । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिअन्तर्गतको राष्ट्रिय ‘गौरव आयोजना’ सामग्री अभावका कारण प्रभावित भएको दाबी भइरहेका बेला सोही आयोजनाको नाममा उठाइएको नदीजन्य सामग्री खुलेआम निजी क्षेत्रमा बिक्री भइरहेको गम्भीर तथ्य सार्वजनिक भएको छ।
बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडक स्तरोन्नति भइरहेको यस आयोजनाले नदीजन्य सामग्री र माटोको चरम अभाव देखाउँदै निर्माण कार्य सुस्त भएको बताइरहँदा, आयोजनाका लागि अमानत प्रक्रियामार्फत उठाइएको बालुवा–गिट्टी आयोजना बाहिर तस्करी भइरहेको प्रमाण फेला परेको हो।
आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। निर्माण कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउन विभिन्न स्थानीय तहसँग अनुरोध गरिएको छ। तर आयोजना सामग्रीको अभाव झेलिरहेको भनिरहँदा, आयोजना मातहतकै लुम्बिनी क्रेशरबाट निजी प्रयोजनका लागि बालुवा–गिट्टी बिक्री भइरहेको भेटिएको छ।
बुटवलदेखि सैनामैना हुँदै कपिलवस्तुको कोठी नदीसम्मको पहिलो खण्डमा मात्रै ८ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक रहेको आयोजनाको तथ्यांक छ। हालसम्म सैनामैना नगरपालिकाबाट ६३ हजार घनमिटर र बाणगंगा नगरपालिकाबाट ६३ हजार ९ सय ९६ घनमिटर सामग्री उपलब्ध गराइएको छ भने बुद्धभूमि नगरपालिकाबाट समेत अमानतमा सामग्री उठाइएको थियो। यता माटोको हकमा आवश्यक ८ लाख ७९ हजार घनमिटरमध्ये हालसम्म २७ हजार घनमिटर मात्रै संकलन भएको आयोजनाले जनाएको छ।
यस खण्डमा २५ किलोमिटर सडकमा ६७ मध्ये ३७ बक्स कल्भर्ट अन्तिम चरणमा पुगेका छन् भने १२ ठूला पुलमध्ये अधिकांशमा पाइलिङ सम्पन्न भएको भए पनि समग्र प्रगति सामग्री अभावकै कारण १७ प्रतिशतमा सीमित रहेको आयोजनाको भनाइ छ।
दोस्रो खण्ड अन्तर्गत कोठी नदीदेखि बेल नदीसम्म ६ लाख २० हजार घनमिटर माटो आवश्यक पर्नेमा करिब ३ लाख घनमिटर मात्रै प्राप्त भएको छ। नदीजन्य सामग्रीतर्फ आवश्यक ५ लाख घनमिटरमध्ये हालसम्म ९० हजार घनमिटर मात्रै उपलब्ध भएको आयोजनाले जनाएको छ। यस खण्डको भौतिक प्रगति १९ प्रतिशत र वित्तीय प्रगति १४ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाउँछ।
तर यिनै अभावको दाबीबीच बाणगंगा नगरपालिकाबाट ‘गौरव आयोजना’ का नाममा कम राजश्वमा उठाइएको नदीजन्य सामग्री आयोजना बाहिरै बिक्री भइरहेको भेटिनुले गम्भीर प्रश्न खडा गरेको छ। लुम्बिनी क्रेशर उद्योगका मालिक तथा ठेकेदार बाबुराम अधिकारीले गत वर्ष बाणगंगा खोलाबाट आयोजना प्रयोजनका लागि अमानतमा उठाएको सामग्री अहिले निजी बजारमा बिक्री गरिरहेको आरोप लागेको छ।
सम्झौता अनुसार आयोजनाका लागि उठाइएको सामग्री आयोजना स्थलमै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि कम विजक, नक्कली रसिद र भ्याट छलिको माध्यमबाट निजी क्षेत्रमा बिक्री भइरहेको प्रमाण भेटिएको छ। सञ्चारकर्मीको अनुगमनका क्रममा लु ३ त ४६०७ र रा १ त ३०१७ नम्बरका ट्याक्टरमार्फत सामग्री ढुवानी गरी निजी क्षेत्रमा बिक्री गरिएको प्रत्यक्ष देखिएको जनाइएको छ।
यसअघि पनि चैत १२ गते बाणगंगा नगरपालिकाले नक्कली रसिद प्रयोग गरी ढुवानी भइरहेको लु २ ख १७०४ नम्बरको टिप्पर नियन्त्रणमा लिई ६० हजार रुपैयाँ जरिवाना गरेको थियो। गत आर्थिक वर्षमा बाणगंगा नदीको श्रीङ्गीघाटदेखि मधुवनसम्मबाट ६३ हजार ९ सय ९६ घनमिटर नदीजन्य सामग्री करिब ३ करोड ३८ लाख रुपैयाँमा उठाइएको थियो भने सोही अवधिमा झण्डै दोब्बर सामग्री नक्कली रसिदमार्फत संकलन गरिएको आरोपसमेत लागेको छ।
बाणगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा प्रतिघनमिटर १५ रुपैयाँ (भ्याट बाहेक) का दरले ६४ हजार घनमिटर सामग्री निकाल्न स्वीकृति दिएको थियो। अन्य व्यवसायीले प्रतिस्पर्धामा दोब्बर रकम तिरेर सामग्री उठाउँदा आयोजना नाममा नगरले ठूलो राजश्व गुमाउन परेको देखिन्छ। नगरसँगको सम्झौतामा उठाइएको सामग्री आयोजनाकै काममा प्रयोग गर्नुपर्ने उल्लेख भए पनि त्यसको खुलेआम उल्लङ्घन भइरहेको छ।
यस विषयमा आयोजना प्रमुख कुशलता न्यौपानेले आयोजनाका लागि जिम्मा लिएको क्रेशरले बाहिर बिक्री गर्न नपाउने र यस विषयमा आयोजना स्वयं जिम्मेवार रहेको बताइन्। यता निर्माण कम्पनीतर्फका कपिलवस्तु क्षेत्रका इन्जिनियर रोहित भट्टराईले सामग्री बाहिर बिक्री भएको विषयमा क्रेशर सञ्चालकलाई ध्यानाकर्षण गराइएको र अब यस्तो नदोहोरिने दाबी गरे।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले १३ अर्ब ५५ करोड रुपैयाँमा सडक स्तरोन्नतिको काम गरिरहेका छन्। विश्व बैंकको ३५ अर्ब रुपैयाँ सहयोगमा ६९ किलोमिटर सडक स्तरोन्नति हुँदैछ। यति ठूलो राष्ट्रिय गौरवको आयोजनामा सामग्री अभावको बहाना बनाएर सोही सामग्री बाहिर बेच्ने खेलले निर्माण प्रगतिमात्र होइन, सार्वजनिक विश्वासमै गम्भीर प्रश्न खडा गरेको छ।

