निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ५१ जना लाभान्वित


पालिका पत्र

२६ पुष २०८२, शनिबार ०८:४३ मा प्रकाशित

वाणगंगा नगरपालिका वडा नं. ९ मा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न शिविरबाट १सय ५१ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच तथा भिडियो एक्स–रे सेवासहित महिलारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी आफ्नै घरआँगनमै विशेषज्ञ चिकित्सकमार्फत सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष कमल पौडेलले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सहयोग पु¥याउने दाता कृष्ण बहादुर  कुवरप्रति आभार व्यक्त गर्दै, वाणगंगा–९ लाई छनोट गरी समुदायमै आएर सेवा उपलब्ध गराइनु अत्यन्तै सराहनीय कार्य भएको बताउनु भएको थियो । यस्ता शिविरहरूले समयमै रोग पहिचान र उपचारमा ठूलो योगदान पुग्ने उहाको भनाइ थियो ।

सहयोगी कृष्ण बहादुर  कुवरले नगरमा आफुले विभिन्न समाजिक, शिक्षा,स्वास्थ र धार्मिक क्षेत्रमा सहयोग गरी  आएको बताउनु भएको थियो ।

शिविर कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालको अध्यक्षतामा एबम कोषाध्यक्ष माधुरी सेन वलीको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव सुस्मा क्षेत्रीले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेकी थिइन् ।

स्वास्थ्य शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ डा. जागृति खनाल र वरिष्ठ रेडियोलोजिस्ट डा. अञ्जन कोइरालाले सेवा प्रदान गरेका थिए । शिविरमा विशेषगरी महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अध्यक्ष कुन्तामणि भुसालले वाणगंगा–९ मा आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिविरबाट १सय ५१ जनाले प्रत्यक्ष लाभ लिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

स्थानीय बासिन्दाहरूले गाउँमै विशेषज्ञ सेवा  पाउँदा खुशी व्यक्त गर्दै आयोजक तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्