कपिलवस्तु ।
निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि भर्ना आवेदन संकलन सुरु भएको पहिलो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा युवायुवतीको उल्लेख्य भिड देखिएको छ। शुक्रबार बिहान १० बजेदेखि आवेदन लिन सुरु हुने सूचना भए पनि बिहान ८ बजेदेखि नै आवेदन दिन आएका युवायुवतीको ठूलो जमात प्रहरी कार्यालय परिसरमा देखिएको थियो।
आवेदकको चाप बढेपछि जिल्ला प्रहरी कार्यालयको गेट बाहिर नै दुई लाइन बनाएर फारम दर्ताको व्यवस्था मिलाइएको थियो। पहिलो दिन र अत्यधिक जाडोका कारण आवेदन संकलनमा केही ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार आवेदकको सहजताका लागि प्रहरी कार्यालय परिसरभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै दुई वटा डेस्क खडा गरी आवेदन संकलन गरिएको थियो। अत्यधिक भिडका कारण साँझ ६ बजेसम्म पनि आवेदन दर्ता कार्य जारी राखिएको उनले बताए।
आवेदकको संख्या बढिरहेकाले शनिबारदेखि आवेदन संकलन समय बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको र प्रक्रिया अझ व्यवस्थित तथा सहज बनाइने सिंहले जानकारी दिए।
‘सुरु दिन भएकाले केही ढिलाइ भयो, अबदेखि आवेदन प्रक्रिया थप सहज बनाउँछौँ,’ उनले भने।
कपिलवस्तु जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ६८ जना निर्वाचन प्रहरी माग गरिएको छ। जसमध्ये नेपाल प्रहरीतर्फ २ हजार ६ सय ६८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय ५० जना माग गरिएको छ। आवेदन दिने म्याद पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ।
यसैबीच, आवेदन सुरु भएको पहिलो दिनमै कुल २ सय ५० जनाको फारम दर्ता भएको छ। दर्ता भएका मध्ये पुरुष १ सय ५९ जना र महिला ९१ जना रहेका छन्। सशस्त्र प्रहरीतर्फ भने पहिलो दिन एक जनाको मात्र आवेदन परेको प्रहरीले जनाएको छ।

