‘विद्यालय कांग्रेस–कम्युनिष्ट हुन हुँदैन’: प्याब्सन राष्ट्रिय अध्यक्ष अधिकारी


पालिका पत्र

२६ पुष २०८२, शनिबार १९:२३ मा प्रकाशित

बाणगंगा, २६ पौष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति कपिलवस्तुको दोस्रो जिल्ला परिषद् बैठक सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–स्थित मायादेवी रिसोर्ट, बैरियामा शनिबार आयोजित परिषद् बैठकमा जिल्लाभरका निजी तथा आवासीय विद्यालयका सञ्चालक, प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालय शिक्षा क्षेत्रका मेरुदण्ड भएको उल्लेख गर्दै विद्यालय कुनै पनि राजनीतिक दलको अंगजस्तो बन्न नहुने बताए । उनले विद्यालय कांग्रेस, कम्युनिष्ट वा कुनै राजनीतिक विचारधाराको छायाँमा होइन, शुद्ध शैक्षिक संस्था भएर अघि बढ्नुपर्ने धारणा राखे । शिक्षा क्षेत्रलाई राजनीति मुक्त राखेर गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको अधिकारीको भनाइ थियो ।

यस्तै प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार सुमन गोपाल श्रेष्ठले निजी विद्यालयले राज्यले पूरा गर्न नसकेको शैक्षिक दायित्व पूरा गरिरहेको बताए । उनले निजी विद्यालयप्रति हेर्ने नकारात्मक दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रका नीतिगत कमजोरी सुधार गर्न प्याब्सनले सशक्त आवाज उठाउनुपर्ने बताए ।

प्याब्सन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले कपिलवस्तुबाट बुटवल विद्यार्थी बोकेर जाने बसहरू नियन्त्रण गर्न नसक्नु जिल्लाको लागि दुर्भाग्यपूर्ण विषय भएको बताए । उनले यसले जिल्लाभित्रका विद्यालयलाई कमजोर बनाउने, स्थानीय शैक्षिक विकासमा नकारात्मक असर पार्ने भन्दै सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।

यता प्याब्सन नेपाल कपिलवस्तुका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य सुन्दर पाण्डेले निजी विद्यालयले गुणस्तर, अनुशासन र विश्वासलाई मुख्य आधार बनाएर अघि बढ्नुपर्ने बताए । उनले संगठनभित्र एकता र सहकार्य मजबुत बनाए मात्र निजी विद्यालयका साझा समस्या समाधान सम्भव हुने धारणा व्यक्त गरे ।

जिल्ला परिषद् बैठकमा प्याब्सनको संगठन सुदृढीकरण, निजी विद्यालयले भोगिरहेका समसामयिक समस्या, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–कर्मचारीको क्षमता विकास तथा अभिभावकसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । साथै जिल्लामा निजी विद्यालयहरूको भूमिका, चुनौती र आगामी कार्ययोजनाका विषयमा समेत गहन बहस गरिएको जनाइएको छ ।

कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । निजी विद्यालयलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

परिषद् बैठकले आगामी दिनमा जिल्लाभित्रका निजी तथा आवासीय विद्यालयबीच आपसी सहकार्य बढाउने, संगठनलाई थप सशक्त बनाउने तथा शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको प्याब्सन कपिलवस्तुले जनाएको छ ।

कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंहको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष तोयनाथ गैरेको स्वागत मन्तव्य तथा सचिव राजु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्