बाणगंगा, २६ पौष ।
प्याब्सन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले कपिलवस्तुबाट बुटवल विद्यार्थी बोकेर जाने बसहरू नियन्त्रण गर्न नसक्नु जिल्लाको लागि दुर्भाग्यपूर्ण विषय भएको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति कपिलवस्तुको दोस्रो जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले स्थानीय तहमै गुणस्तरीय विद्यालय हुँदाहुँदै बाहिरी जिल्लामा विद्यार्थी लैजानु कपिलवस्तुको शैक्षिक सम्भावनामाथिको चुनौती भएको बताए । उनले यसले जिल्लाभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयलाई कमजोर बनाउनुका साथै स्थानीय शैक्षिक लगानी र जनशक्ति पलायन हुने अवस्था सिर्जना गरेको उल्लेख गरे ।
प्रदेश अध्यक्ष पाण्डेले विद्यार्थी बोक्ने बसहरू अव्यवस्थित रूपमा सञ्चालन हुँदा विद्यार्थीको सुरक्षा, अनुशासन र समय व्यवस्थापनमा समेत असर परिरहेको भन्दै यसप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए । उनले स्थानीय सरकार, प्रशासन, यातायात व्यवसायी र शैक्षिक संघ–संस्थाबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनुपर्ने आवश्यकता औंल्याए ।
उनले प्याब्सनले शिक्षा क्षेत्रलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउन निरन्तर पहल गरिरहेको उल्लेख गर्दै स्थानीय विद्यालयको शैक्षिक स्तर उकास्न अभिभावकको विश्वास जित्ने कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे । साथै उनले नीति निर्माण तहमा देखिएका कमजोरीका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै सुधारका लागि साझा आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले समेत कपिलवस्तु जिल्लामा निजी विद्यालयहरूले राज्यको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नीतिगत समस्या समाधान नगरेसम्म शैक्षिक पलायन रोकिन नसक्ने धारणा व्यक्त गरेका थिए ।

