बाणगंगा नगरपालिका–१ बैरियामा अवस्थित बैरिया युवा समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट महेशराज पन्थ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार बैरियामा सम्पन्न अधिवेशनले पन्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पन्थले समाजप्रति विश्वास गर्दै जिम्मेवारी सुम्पिएकामा धन्यवाद व्यक्त गर्दै युवाको शक्ति र सम्भावनालाई सामाजिक रूपान्तरणमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामाजिक चेतनाका क्षेत्रमा युवालाई सक्रिय बनाउँदै समाजलाई उदाहरणीय बनाउने लक्ष्यसहित काम गर्ने बताउनुभयो ।
अधिवेशनबाट उपाध्यक्षमा सुरेश खत्री, सचिवमा सागर घिमिरे, सहसचिवमा भगवती शर्मा र कोषाध्यक्षमा सुर्यमनी पाण्डे निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरुमा कृष्ण शर्मा, चोपलाल बेल्वासे, श्रीधर पन्थ, सञ्जय कुमार थारु, गंगा पौडेल र सिता कुवँर निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक ओमप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
सभाका अध्यक्ष विष्णु प्रसाद घिमिरेले युवाको जोस, जाँगर र सकारात्मक सोचलाई समाज परिवर्तनको माध्यम बनाउने उद्देश्यसहित बैरिया युवा समाजको परिकल्पना गरिएको स्मरण गराउनुभयो ।
उहाँले समाजसेवाको पवित्र भावनाका साथ सबैको साझा प्रयासबाट संस्था स्थापना भएको उल्लेख गर्दै अहिलेसम्म समाजले रचनात्मक तथा उदाहरणीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा संविधान सभा सदस्य विश्रामप्रसाद चौधरीले युवाहरु समाजका मेरुदण्ड भएको उल्लेख गर्दै सामाजिक विकास र सुशासनका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले बैरिया युवा समाजले स्थानीय स्तरमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
बरिष्ठ समाजसेवी कृष्ण कुवँर लगायत वक्ताहरुले पनि युवाको एकता र निरन्तर सक्रियताले समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो ।
कार्यक्रममा सचिव सुरेन्द्र घिमिरेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्यामबहादुर घिमिरे क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुवै प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
सचिव सुरेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, समाजका सल्लाहकार तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

