बाणगंगामा भव्य रूपमा मनाईयो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस


पालिका पत्र

२८ पुष २०८२, सोमबार ०९:३१ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित दर्शन चोकमा आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइएको छ। नेपाल दर्शन समाज कपिलवस्तुको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै दिवस मनाइएको हो।

कार्यक्रममा नेपाली सेनाद्वारा सम्मान गारत अर्पण गरिएको थियो।नेपाल दर्शन समाज कपिलवस्तुकी अध्यक्ष सुनिता सेनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो। उहाँले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई व्यवस्थित रूपमा मनाउन पालिकास्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा बजेट व्यवस्थापन गर्न माग गर्नुभयो।

अध्यक्ष सेनले राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु नगरेको भए आज नेपालीहरू यो अवस्थामा नपुग्ने बताउनुभयो। साथै, यस कार्यक्रमले पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको स्मरण गराउँदै राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रनिर्माणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्तासम्म परिचित गराउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

देश अहिले अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सबै नागरिक एकताको सूत्रमा बाँधिनुपर्ने आवश्यकता औंल्याउनुभयो। ‘राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने विभिन्न जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरूको योगफल हो। राष्ट्र जोगाउने जिम्मेवारी सबैको हो,’ उपप्रमुख चौधरीले भन्नुभयो।

सो अवसरमा कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल, नेपाली कांग्रेस नगर सभापति विष्णु थापा, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिवालय सदस्य माधवभाट क्षेत्री, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल लगायतका कार्यक्रममा बोल्ने वक्ताहरूले पृथ्वीनारायण शाहको व्यक्तित्व, राष्ट्रिय एकीकरणको उद्देश्य, पृष्ठभूमि र ऐतिहासिक महत्वबारे चर्चा गरेका थिए।

नेपाल दर्शन समाज कपिलवस्तुका उपाध्यक्ष फबेन्द्र सेनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार रामजी सेनले गर्नुभएको थियो।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था, सुरक्षाकर्मी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्