रेष्टुरेन्टभित्रै जुवा अड्डा ! बाणगंगामा छापा, सञ्चालकसहित ६ जना पक्राउ


पालिका पत्र

२८ पुष २०८२, सोमबार १९:०२ मा प्रकाशित

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

आईतबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मार्दै जुवाडेहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–५ पिपरी चापा बस्ने ३५ वर्षीय दिलिप थापा, सोही पालिका–५ भैसाहीका ३२ वर्षीय कमल थापा, गौडी बस्ने ३३ वर्षीय दीपेन्द्र घर्ति मगर, बाणगंगा नगरपालिका–१० बनकट्टीका ३५ वर्षीय अर्जुन चौधरी तथा भावपुरका ३५ वर्षीय दिनेश थारु रहेका छन् । दिनेश थारु रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टका सञ्चालकसमेत रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूको साथबाट नगद रु. २ लाख ५६ हजार २ सय ९० रुपैयाँ, ६ थान मोबाइल फोन तथा ३ गड्डी तास बरामद गरेको जिल्ला प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सबै व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा ल्याइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्