जाडोमा राहत, शिक्षामा प्रोत्साहन: मधुवन सामुदायिक वनको पहल


पालिका पत्र

२८ पुष २०८२, सोमबार १९:२५ मा प्रकाशित

बाणगंगा ।
बाणगंगा नगरपालिका–८ मधुवनमा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिक तथा विद्यार्थी लक्षित सहयोग कार्यक्रम सम्पन्न गरेको छ । वनले आयोजित एक कार्यक्रमका बीच २०० जना जेष्ठ नागरिकलाई जाडोबाट बच्न बलांकेट वितरण गरेको छ भने करिब २५० जना विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरेको छ । साथै पाँचवटा टोलका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीसमेत वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक संघ बाणगंगाका अध्यक्ष भेषराज कुँवरले मधुवन सामुदायिक वनले जेष्ठ नागरिकलाई चिसोबाट जोगाउने र विद्यार्थीलाई अध्ययनतर्फ प्रोत्साहन गर्ने उद्देश्यले गरेको कार्य सराहनीय रहेको बताए ।

कार्यक्रम मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष सापकोटाले सामुदायिक वन काठ–दाउरा व्यवस्थापनमा मात्र सीमित नभई समाज र समुदायका आवश्यकता अनुसार सहयोग गर्दै आएको सामाजिक उत्तरदायी संस्था भएको उल्लेख गरे । उनले जेष्ठ नागरिक र बालबालिकाको आवश्यकता पहिचान गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गरिने बताए ।

बलांकेट प्राप्त गरेका जेष्ठ नागरिकहरूले चिसो मौसममा राहत पुगेको भन्दै सामुदायिक वनप्रति धन्यवाद व्यक्त गरेका थिए ।कार्यक्रममा वनका पूर्वअध्यक्ष तथा सल्लाहकार शान्तविक्रम पौडेल, समाजसेवी, लेखा संयोजकलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वनकी सचिव देवकला सुनारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्