कपिलवस्तुको बाणगंगा नगरपालिका–२ लखनपारामा ७ औँ बाणगंगा नगरस्तरीय माघी (खिचडी) महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणी सभा बाणगंगा नगरकार्यसमितिको आयोजनामा हुने उक्त माघि महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने थारु कल्याणकारिणी सभा बाणगंगाका कार्यवाहक अध्यक्ष ऋषिराम थारुले जानकारी दिनुभयो ।
उहाँले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत थारु संस्कृति, परम्परा र पहिचानको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्नुहुनेछ ।
उहाँले महोत्सवको उद्घाटन दिनमा बृहत रक्तदान कार्यक्रम समेत राखिएको जानकारी दिदैं महोत्सवमा थारु सांस्कृतिक झाँकी र्याली, विविध सांस्कृतिक प्रस्तुति, थारु खानपानको प्रदर्शनी तथा बिक्री, थारु सीप तथा हस्तकलाको प्रदर्शन लगायत कार्यक्रमहरू समावेश गरिने बताउनुभयो ।
यसैगरी झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी–विरहनी गीत तथा रेकर्ड डान्स जस्ता थारु संस्कृति झल्कने आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो । कार्यबाहक अध्यक्ष थारुले एसईई र प्लस टु मा उत्कृष्ट नतिजा ल्याउने थारु समुदायका विद्यार्थी र नेपाल सरकारबाट अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले माघी पर्व विभिन्न समुदायसँग घुलमिल हुने साझा पर्व भएकाले यसले नेपाली पर्वको एकताको सन्देश दिने बताउनुभयो । “थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ। यस वर्ष थारु संवत् २६४८ लाई विदाइ गर्दै २६४९ लाई भव्य रूपमा स्वागत गर्ने तयारी गरेका छौँ ।” उहाँले भन्नुभयो ।
उहाँले माघी महोत्सव थारु समुदायको मौलिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै, हराउँदै गएको थारु संस्कार, संस्कृति र परम्पराको संरक्षणमा यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले माघी महोत्सवले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता सांस्कृतिक महोत्सवहरूले समुदायबीच एकता बढाउनुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने बताउनुभयो ।
उक्त पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले गर्नुभएको थियो ।

