मधुवनमा सम्पन्न श्री भागीरथी गौ संरक्षण महायज्ञको आम्दानी–खर्च सार्वजनिक


पालिका पत्र

२ माघ २०८२, बिहीबार ०९:४१ मा प्रकाशित

बाणगंगा नगरपालिका–८ मधुवनमा गत मंसिर ११ गतेदेखि १८ गतेसम्म सम्पन्न श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञ तथा भागीरथी गौ संरक्षण महोत्सवको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ ।

बुधबार श्री भागीरथी गौ संरक्षण महायज्ञ मूल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत महायज्ञको आर्थिक विवरण सार्वजनिक गरिएको हो । समितिले कार्तिक २० गतेदेखि पौष २७ गतेसम्मको आय–व्यय विवरण सार्वजनिक गरेको जनाएको छ ।

भागीरथी गौ संरक्षण विकास केन्द्रका अध्यक्ष तथा महोत्सवका संयोजक चक्रबहादुर भण्डारीले सार्वजनिक गर्नुभएको विवरणअनुसार महायज्ञबाट कुल ५७ लाख ७५ हजार २५४ रुपैयाँ आम्दानी भएको छ । आम्दानीतर्फ भक्तजनबाट कबोल गरिएको दान, दान पेटिकाबाट संकलित नगद, धान, चामल, इँटा लगायतका जिन्सी सामग्री तथा विभिन्न महानुभाव, संघ–संस्था र स्थानीय तहबाट प्राप्त सहयोग रकम समावेश गरिएको छ ।

योजना तथा कबोल रकम अन्तर्गत बाणगंगा नगरपालिका र अन्तर्गतका वडा कार्यालयहरू, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका, मधुवन सामुदायिक वन, नवप्रभात सामुदायिक वन, नवजागृति सामुदायिक वन लगायत अन्य महानुभावबाट प्राप्त तथा प्राप्त हुन बाँकी सहयोग रकमसमेत गरी कुल १ करोड ५८ लाख २३ हजार ६३६ रुपैयाँ रहने समितिले जनाएको छ ।

खर्चतर्फ मन्दिर, मण्डप र पण्डाल निर्माण, आश्रम तथा समग्र व्यवस्थापन, छपाइ तथा प्रचार–प्रसार, खानेपानी र सरसफाइ, विद्युत तथा साउण्ड प्रणाली, कलाकार तथा सांस्कृतिक समूह व्यवस्थापन, यातायात र आवास, दक्षिणा, पूजा सामग्री, दैनिक प्रसाद तथा भोजन वितरण, प्रशासनिक तथा विविध शीर्षकमा खर्च गरिएको विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक विवरणअनुसार सम्पूर्ण खर्च कट्टा पश्चात् महायज्ञबाट १२ लाख ६ हजार ७४४ रुपैयाँ बचत ९नाफा० भएको छ। साथै केही जिन्सी सामग्री र कबोल रकम अझै उठ्न बाँकी रहेको जानकारी पनि समितिले दिएको छ ।

महोत्सवका संयोजक भण्डारीका अनुसार ४३ वटा उपसमितिमार्फत महायज्ञ सफलतापूर्वक सम्पन्न गरिएको हो। महायज्ञ अवधिभर करिब २० हजार भक्तजनको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा समितिका पदाधिकारीहरूले महायज्ञलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण दातृ निकाय, भक्तजन, स्थानीय तह, कलाकार तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै बाँकी रकम तथा सामग्रीसमेत पूर्ण पारदर्शिताका साथ व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्