रुख रोपौँ, वन जोगाऔँ भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ जिनुवामा रहेको खोजीपुर सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारणसभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
साधारणसभामा समूहकी सचिव लक्ष्मी पौडेलले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। भने कोषाध्यक्ष सरस्वती पौडेलले चालु आर्थिक वर्षको करिब ४ करोड ५१ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन्।
कार्यक्रममा समूहका कार्यबाहक अध्यक्ष दुर्गा थापाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा उत्पादनमुखी गतिविधिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साधारणसभाका अवसरमा खोजीपुर सामुदायिक वनले उपभोक्ता समूहभित्रका एकल महिला तथा दृष्टिविहीन व्यक्तिहरूलाई सम्मान गरेको थियो। यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनको संरक्षण र सम्वर्द्धनमा वडासँग सहकार्य गर्दै अघि बढेमा वडाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी, विशिष्ट अतिथि तथा सब–डिभिजन वन कार्यालय गोरुसिङ्गेका सहायक वन अधिकृत अमित पाण्डेले सामुदायिक वनले वनसम्बन्धी नीति, नियम तथा स्वीकृत योजना अनुसार पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले वनको संरक्षण र सम्वर्द्धनसँगै उत्पादन तथा सदुपयोगलाई पनि सन्तुलित रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेल, कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल, समाजसेवी भुवनेश्वर पौडेल लगायत वक्ताहरूले आफ्ना धारणा राख्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए।
साधारणसभा खोजीपुर सामुदायिक वनका कार्यबाहक अध्यक्ष दुर्गा थापाको अध्यक्षता तथा वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी, सल्लाहकार विष्णु भुसाल, समाजसेवी तिलकराम पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी पौडेलले गरेकी थिइन्।
खोजीपुर सामुदायिक वनले विगतदेखि नै समुदाय केन्द्रित रचनात्मक तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। १६औँ साधारणसभामा छिमेकी सामुदायिक वनका अध्यक्षहरू, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

