होटल तथा पर्यटन व्यवसायी संघको पहल ; बाणगंगामा घरबारविहीनका लागि निःशुल्क खाना सेवा प्रारम्भ


पालिका पत्र

२ माघ २०८२, बिहीबार २०:५७ मा प्रकाशित

बाणगंगा । “भोकको विरुद्ध मानवताको अभियान” भन्ने मूल नारासहित कपिलवस्तु जिल्ला, बाणगंगा नगरपालिका–४ न।चोकमा घरबारविहीन, असहाय, अशक्त तथा सडकमानवहरूका लागि दैनिक निःशुल्क खाना सेवा औपचारिक रूपमा संचालनमा ल्याइएको छ।

बिहान १० बजेदेखि नियमित रूपमा एक छाक न्यानो खाना वितरण गर्दै आएको आयोजक होटल तथा पर्यटन व्यवसायी संघ, कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले विशेष गरी सडकमा जीवन बिताउन बाध्य नागरिकलाई लक्षित गरी यो अभियान सुरु गरिएको जानकारी दिनुभयो।

अध्यक्ष पौडेलका अनुसार कार्यक्रमको उद्देश्य भोक, अभाव र उपेक्षामा रहेका व्यक्तिहरूलाई कम्तिमा एक छाक स्वस्थ र न्यानो खाना उपलब्ध गराउनुका साथै सहकार्य, करुणा र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्नु रहेको छ।

“सेवामै धर्म, करुणामै शक्ति र मानवतामै समाज” भन्ने सन्देशसहित अभियानलाई दीर्घकालीन रूपमा अघि बढाइने उहाँको भनाइ छ।

कार्यक्रमका मुख्य अतिथि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले यस्तो मानवीय अभियानले नगरको सामाजिक दायित्व तथा मानवताको पहिचानलाई झनै मजबुत बनाउने बताउनुभयो।

“नगरको विकास भौतिक संरचनाबाट मात्र हुँदैन, समाजका कमजोर वर्गलाई आत्मसम्मानसहित बाँच्न दिने वातावरण बनाउनुपर्छ। यस्तो पहल नगरका लागि अनुकरणीय छ,” प्रमुख अर्यालले भन्नुभयो।

यस अभियानलाई सहयोग गर्दै आएका उद्योग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसाय र स्थानीय सामाजिक संस्थाहरूलाई पनि कार्यक्रममा आभार प्रकट गरिएको थियो।

उद्योग बाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीले आर्थिक तथा सामाजिक सहयोगबाट यस्तो अभियानले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्दै, स्थानीय व्यापारी तथा उद्यमीहरूलाई पनि निरन्तर साथ दिन अनुरोध गर्नुभयो।

पर्यटन विज्ञ तथा होटल–पर्यटन व्यवसायी संघका वरिष्ठ सल्लाहकार पोम नारायण पौडेलले मानवता र करुणामाथि आधारित अभियान पर्यटन क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

“मानवता पनि पर्यटनको एक महत्वपूर्ण पहिचान हो, सेवा र सद्भावले नै समाज उज्यालो हुन्छ,” उहाँले भन्नुभयो।

लायन्स क्लबका अध्यक्ष नारायण पौडेलले सामाजिक उत्तरदायित्वअनुसार क्लबले सम्भव हुने सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आयोजक प्रती धन्यवाद व्यक्त गर्नुभयो।

होटल तथा पर्यटन व्यवसायी संघ, कपिलवस्तुले नगरवासी, सामाजिक संघ–संस्था, व्यापारी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

“आफ्नो नजिकका सडकमानव वा असहाय व्यक्तिलाई यस अभियानसँग जोडिदिनुहोस्। तपाईंको सानो पहल कसैको ठूलो आधार बन्न सक्छ,” आयोजकले अपिल गरेको छ।

संस्थाका अनुसार, “आउनुहोस्, मान्छे भएर मान्छेको लागि गरौँ” भन्ने भावनाका साथ सुरु गरिएको यो अभियानले समाजमा सकारात्मक परिवर्तनको ऊर्जा भरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्