कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१० पटना क्षेत्रमा अवस्थित मायादेवी साझेदारी वनमा चितुवा डमरु सहित देखिएका छन् । बाणगंगा नगरपालिका–१० र ११ को सीमा पर्ने घगवा खोलामा चितुवा ३–४ वटा डमरुसहित देखिएकोले वन क्षेत्रमा प्रवेश गर्दा विशेष सावधानी अपनाउन मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले सर्वसाधारणलाई आग्रह गरेका छन्। जयसवालले आफू लगायत वन कर्मचारी र हेरालुले चितुवा डमरु सहित देखेको बताए ।
अध्यक्ष जयसवालका अनुसार पछिल्लो समय वन क्षेत्रमा वन्यजन्तुको आवतजावत बढ्दै गएको छ। चितुवासँगै मायादेवी साझेदारी वनमा अजिङ्गर, निलगाई र बदेल लगायतका वन्यजन्तु पनि पाइने गरेको जानकारी उनले दिए। यसले वनको जैविक विविधता समृद्ध रहेको संकेत गरे पनि मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढ्न सक्ने भएकाले सचेतना आवश्यक रहेको उनको भनाइ छ।
बाणगंगा नगरपालिका वडा नं. १०, ११ र २ मा फैलिएको मायादेवी साझेदारी वन अर्घाखाँची जिल्लाको सीमासम्म फैलिएको वन क्षेत्र हो। स्थानीय बासिन्दा, घाँसदाउरा तथा वन पैदावार संकलन गर्न जाने व्यक्तिहरूलाई समूहमा हिँड्न, बालबालिकालाई एक्लै नपठाउन र वनमा अनावश्यक रूपमा प्रवेश नगर्न वन समितिले आग्रह गरेको छ। वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरेर निगरानी बढाइने समेत वन समितिले जनाएको छ।

