लुम्बिनीमा पर्यटक सूचना केन्द्र सञ्चालन


पालिका पत्र

६ माघ २०८२, सोमबार १०:०० मा प्रकाशित

लुम्बिनी — मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई पथ प्रदर्शनका साथै आधिकारिक सूचना प्रदान गर्न आइतबारदेखि सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, पर्यटन बोर्ड, यूएनडीपी र एसटीपी लगायत संस्थाको सहयोगमा सूचना केन्द्र सञ्चालनमा आएको हो । लुम्बिनीको पर्यटकीय केन्द्र महिलवारस्थित पाँच नम्बर गेट नजिकै सूचना केन्द्र स्थापना गरिएको हो । लुम्बिनी होटल संघले यसको सञ्चालन गर्नेछ । मर्मत सम्भार लगायत रेखदेखको काम लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने सम्झौता गरिएको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले विश्वकै आकर्षणको केन्द्र भए पनि सूचना केन्द्र लगायत पर्यटन व्यवस्थापनका सानातिना काम गर्न नसक्दा पछाडि परेको जनाए । सधैं पछाडि किन पर्ने भनेर अत्याधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । ‘आधुनिक सूचना केन्द्र भएकाले सबै खालका जानकारी मिल्ने छन्,’ अध्यक्ष शर्माले भने, ‘केन्द्रमा अंग्रेजी, हिन्दी, नेपाली र स्थानीय भाषा जानेको सूचना अधिकृत हुनेछन् ।’

केन्द्रमा सूचना प्रविधिको व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइने छ । सूचना केन्द्र आसपास दुई सय मिटरवरिपरि वाईफाई निःशुल्क उपलब्ध गराइएको छ ।

कार्यक्रममा भिक्षु सागर धम्म, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई, होटल संघका निवर्तमान अध्यक्ष गोविन्द ज्ञवाली र पर्यटन उद्यमी हेमबहादुर विष्ट लगायतले पर्यटन सूचना केन्द्रको महत्त्वबारे चर्चा गरेका थिए । सूचना केन्द्रको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले उद्घाटन गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्