कपिलबस्तु , माघ ५ गते । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि मङ्गलबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ ।
कपिलबस्तु मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता र निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय सर्बदलिय बैठकमा मनोनयन दर्तासँगै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नका लागि छलफल गरिएको मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले बताउनुभयो ।
सो अवसरमा बोल्दै मुख्य निर्वाचन अधिकृत पौडेलले मङ्गलबार हुने मनोनयन दर्ताको लागि सबै तयारी पूरा भएको बताउनुभएको छ । जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि सहयोग गर्न अपिल समेत गरेका छन् ।
सबै दलका प्रमुख एवं प्रतिनिधिहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तथा निर्देशिकाको पालना गर्न प्रतिबद्धता जाहेर गरेका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी जर्नदन गौतम, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा र पत्रकारका साथै अन्य दलहरूका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

