कपिलवस्तु, माघ ५ गते । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन दिइएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासनले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजाना माघ २० गतेभित्र नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउन निर्देशन दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार निर्वाचन अवधिमा सम्भावित जोखिम न्यूनीकरण गर्न र शान्ति सुरक्षा कायम राख्न यस्तो व्यवस्था गरिएको हो । “निर्वाचनलाई शान्तिपूर्ण र विश्वासयोग्य बनाउन सबैले कानुनको पालना गर्दै हातहतियार समयमै प्रहरीमा बुझाउन आवश्यक छ,” उहाँले भन्नु भयो ।
प्रहरी एकाइमा बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीले कानुनी प्रक्रिया पूरा गरी फिर्ता पाउने उहाँको भनाइ छ । सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

