कपिलवस्तु । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने तयारीसँगै लुम्बिनी प्रदेश सभाका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन्।
लुम्बिनी प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद धर्मबहादुर चौधरीले औपचारिक रूपमा राजीनामा दिएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बानियाले भने सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि प्रदेश सभा सचिवालयमा हालसम्म जानकारी गराएका छैनन्।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार मास्की र चौधरीले बुझाएको राजीनामापत्र सचिवालयमा दर्ता भइसकेको छ र दुवैको सनाखतसमेत सम्पन्न भइसकेको छ। “उहाँहरूको राजीनामासम्बन्धी सूचना भोलिसम्म प्रदेश सभामा टाँस गरिनेछ,” सचिव पुनले बताए। बानियाले भने सोमबार दिउँसो ४ बजेसम्म सचिवालयलाई औपचारिक जानकारी नगराएको उनले जानकारी दिए।
२०७९ सालको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट लोसपा नेपालका तर्फबाट निर्वाचित कन्हैया बानियाले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका साथ सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत राजीनामाको घोषणा गरेका हुन्।
धर्मबहादुर चौधरी यसअघि नाउपाबाट बर्दिया–२ बाट निर्वाचित भएका थिए। पछि नाउपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएपछि उनी उज्यालो नेपाल पार्टीमा आबद्ध भएका थिए। चौधरी उज्यालो नेपाल पार्टीका महासचिव समेत हुन्।
धनबहादुर मास्की दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट र धर्मबहादुर चौधरी बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छन्। कन्हैया बानिया भने राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै रुपन्देही–४ बाट निर्वाचन लड्ने भएका छन्।
मास्कीले २०७९ को प्रदेश सभा निर्वाचनमा दाङ–३ बाट माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट उम्मेदवारी दिँदै एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए। उनी लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए।
चौधरीले भने माओवादी–कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी नाउपाबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा तीन जना सांसदको राजीनामापछि हाल प्रदेश सभा ८४ सदस्यीय बनेको छ।

