कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस संसदीय बोर्डले कपिलवस्तु क्षेत्र नम्बर १ बाट अत्तहर कमाल मुसलमानलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो। मुसलमान यसअघि संविधान सभा सदस्य रहिसकेका नेता हुन्।
यसैगरी कपिलवस्तु क्षेत्र नम्बर २ बाट सुरेन्द्रराज आचार्यलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरिएको छ। कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार आचार्यले यस क्षेत्रबाट पुनः चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। उनले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवारी दिँदै एमालेका वृजेशकुमार गुप्तालाई पराजित गरेका थिए। आचार्य नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत हुन्।
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट अभिषेक प्रताप शाह प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। कांग्रेस संसदीय बोर्डले शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अब शाहको मुख्य प्रतिस्पर्धा नेकपा एमालेबाट उम्मेदवार बनेका विरेन्द्र कनौडियासँग हुने भएको छ।
उता नेकपा एमालेले कपिलवस्तु क्षेत्र नम्बर २ बाट दिर्घ नारायण पाण्डेयलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ।
कांग्रेस र एमाले दुवै प्रमुख दलले उम्मेदवार टुंग्याएसँगै कपिलवस्तुमा प्रतिनिधि सभा निर्वाचनको राजनीतिक सरगर्मी तीव्र बनेको छ।

